मास प्रिन्टरको अभावमा स्मार्ट कार्ड छाप्न समस्या भइरहेको यातायात विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरु बताउँछन्।
उनी भन्छन्, ‘दैनिक स्मार्ट लाइसेन्सको माग ६–७ हजार छ। तर, मुस्किलले साढे ४ हजार मात्रै प्रिन्ट हुन्छ।’ मागभन्दा आपूर्ति कम भएपछि सेवाग्राहीलाई समयमै लाइसेन्स दिन नसकिएको उनले स्वीकारे।
भक्तपुरको राधेराधेस्थित सवारीचालक अनुमतिपत्र कार्यालयका प्रशासन फाँटका अधिकृत तथा सूचना अधिकारी गोविन्दराज शिवाकोटीले एक घण्टादेखि ३ दिनसम्म लगाएर लाइसेन्स (पास गरेको, नवीकरण र वर्ग थप, हराएको) को सबै प्रक्रिया पूरा गर्ने गरिएको बताउँछन्।
तर, लाइसेन्स प्रिन्ट भएर नआउँदा सेवाग्राहीलाई सम्झाउँदा–सम्झाउँदै दिन बित्ने गरेको उनले बताए। ‘सेवाग्राहीले आवेदन दिएपछि हामीले लाइसेन्सको सबै प्रक्रिया पूरा गर्छौं।
त्यो सबै डाटा सर्भरमार्फत विभागलाई छपाइ गर्न पठाउँछौं।
प्रिन्ट गरेर कार्यालयमा पठाउने जिम्मेवारी विभागकै हो’, सूचना अधिकारी शिवाकोटी भन्छन्, ‘मेरो लाइसेन्स कहिले आउँछ ? ६ महिना भयो, ७ महिना भयो ९ महिना भयो भन्दै सेवाग्राही आउनुहुन्छ।
दुःखको साथ भन्नुपर्छ, एक वर्षपछि मात्रै आउँछ। उहाँहरू रिसाएर फर्किनहुन्छ।’ झन्डै एक वर्षमा मात्रै लाइसेन्स दिने गरिएका कारण सिंगो निजामती प्रशासनप्रतिको नागरिक दृष्टिकोण नै नकारात्मक बन्दै गएको उनले बताए ।