ओरा ब्राण्डको इलेक्ट्रीक ह्याचव्याक कार ‘ओरा-०३’को बुकिङ खुल्ला भएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले ४७ लाख ४९ हजार मूल्य तोकेर यसको बुकिङ खुल्ला गरेको हो ।
भीजी इम्पेक्सले एक वर्षअघि नै नेपाल ल्याएको ओरा गुडक्याट कै अष्ट्रेलियन स्पेक ‘ओरा-०३’ अहिले नेपाल आएको हो । यस पटकको बजेट लगत्तै ओरा-०३ इलेक्ट्रीक कार नेपालमा बिक्री सुरु हुने कम्पनीले जनाएको थियो ।
ओरा-०३ मा ४७.७८ किलोवाट आवरको लिथियम आयाेन फस्फेट ब्याट्री प्याक छ । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।
यो कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको मतलव कारले अधिकतम १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्छ ।
ओरा-०३ निकै सुरक्षीत कार रहेको छ । यसले यूरोपियन एनक्यावको क्र्यास टेष्ट सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ पाएको छ ।
ह्याचव्याक कारको डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १६०३ एमएम तथा २६५० एमएमको ह्वीलवेस रहेको छ ।
कारलाई प्रिमियम बनाउन यसको क्याविनलाई उत्कृष्ट फिचरले भरिपूर्ण बनाइएको छ । दुुई वटा १०.२५ इन्चको डिस्प्ले प्यानल, वायरले मोवाइल चार्जिङ प्याड, सिक्सवे पावर एड्जस्ट ड्राइभर सिट, अटोडिमीङ रियरभ्यू मिरर, ३६० डिग्री क्यामरा यसमा पाउन सकिन्छ ।
कम्फर्ट र कन्भेनियन्सका लागि ओरा ०३ मा ठुलो र फराकिलो क्याविन, पानोरामिक सनरुफ, लेदर सिट, सिक्स–वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ फरक ड्राइभिङ मोडहरू, आदि जस्ता सुविधाहरू प्रदान गर्दछ ।
सुरक्षाको लागि कम्पनीले यसमा ७ वटा एयरव्याग, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल , ट्र्याक्सन कन्ट्रोल सिस्टम , इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा फिचरहरु दिएको छ ।
निकै क्लासिक डिजाइनमा तयार भएको ओरा-०३ मा १८ इन्चको अलोय ह्वील, एलइडी डीआएल, प्रोजेक्टर हेड ल्याम्प, एलइडी टेल ल्याम्प पाउन सकिन्छ ।
कम्पनीले हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वा १५०००० किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी र कन्जुमेवल पार्टस बाहेक सम्पूर्ण गाडीमा ४ वर्ष वा १५०००० किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी उपलब्ध गराएको छ ।
यसलाई ग्राहकले मूल्यको २० प्रतिशतले हुन आउने ९ लाख ४९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेर यसलाई खरिद गर्न सक्नेछन्, बुधबारबाट यसको बुकिङ खुल्ला भएको हो ।