काठमाडौं महानगरले हटायो घुम्ती शौचालय

काठमाडौंको न्युरोड (एनएसीछेउ) र रत्नपार्क नजिकै रहेको घुम्ती शौचालय महानगरपालिकाले हटाएको छ ।

नियमित मर्मत अभावका कारण घुम्ती शौचालय चुहिन थालेको र जसका कारण दुर्गन्ध फैलिएपछि महानगरले हटाएको हो ।

यी स्थानमा एक दशकभन्दा अघिदेखि घुम्ती शौचालय प्रयोगमा थिए ।

सार्वजनिक शौचालय अभावलाई यिनीहरूले केही हदमा भए पनि पूर्ति गरिरहेका थिए ।

तर, त्यही शौचालय पनि बन्द हुँदा सर्वसाधारण घरबाट निस्किनुअघि शौचालयबारे सोच्न बाध्य भएका छन् ।

महानगरका अनुसार २० जेठबाट उक्त शौचालय बन्द भएका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘हामीसँग भएका दुईवटा घुम्ती शौचालय हाललाई बन्द भएका छन् ।

चुहावट भएका कारण दुर्गन्ध फैलियो । त्यसैले हटाउन बाध्य भयौँ ।’

उनका अनुसार घुम्ती शौचालय सञ्चालनका लागि १४ वर्षअघि महानगरपालिकाले टेन्डर आह्वान गरेको थियो ।

सोही आह्वानअनुसार वासु उप्रेतीलाई शौचालय सञ्चालनको जिम्मेवारी दिइएको थियो ।

१० वटा घुम्ती शौचालयका लागि महानगर र उप्रेतीबीच सम्झौता भए पनि कार्यादेश नदिएकाले दुईवटा मात्र सञ्चालन हुँदै आएका थिए ।

उक्त शौचालय महानगरले विभिन्न जात्रा, पर्व, आन्दोलनलगायत समयमा पनि प्रयोग गर्दै आएको थियो ।

काठमाडौं महानगरले तत्काल घुम्ती शौचालय नचलाउने भएको छ । प्रवक्ता मानन्धरका अनुसार मापदण्ड पुर्‍याएर प्रस्ताव लिएर कोही आए महानगरले सोच्नेछ ।

काठमाडौंले घुम्ती शौचालय बन्द गराए पनि ललितपुर महानगरपालिकाले भने सञ्चालन गरिरहेको छ ।

ललितपुरले पाटन र पुल्चोकमा दुईवटा घुम्ती शौचालय राखेको छ ।

जात्रा, पर्वका वेला आवश्यकताअनुसार विभिन्न ठाउँमा समेत लैजाने गरेको महानगरले जनाएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनले भने, ‘सर्वसाधारणको मागअनुसार घुम्ती शौचालय प्रयोग गर्दै आएका छौँ । ती शौचालयका कारण जात्रा, पर्वमा निकै सहज हुने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *