अलमलमा इम्बोस्ट नम्बर प्लेट

सवारीसाधनको ट्रयाक गर्नेदेखि लिएर सवारीसाधनको बारेमा डिटेल्स विवरण हुने इम्बोस्ट नम्बर प्लेटको प्रयोगमा सवारीधनीहरु नै अलमलमा छन् ।

सरकारले कहिले ढिला त कहिले अनिवार्य जस्तो कुरा गरेपनि इम्बोस्ट नम्बर प्लेटको प्रयोग खासै उपयोगमा आउन सकेको छैन ।

सहर वा निश्चित क्षेत्रमा इम्बोस्ट नम्बर रिड गर्ने गेट बनाउनुपर्ने, सवारी चेकजाँचको लागि ट्राफिक प्रहरीहरुसँग त्यसको स्क्यानिङ्ग डिभाइस हुनुपर्नेमा केहि पनि नहुँदा त्यसको प्रयोग पनि औचित्यपुर्ण देखिएको छैन ।

सवारीसाधन अनुसार विभिन्न साइजको अथवा अहिले प्रयोगमा रहेको नम्बर प्लेटको साइजको नहुँदा त्यति राम्रो पनि देखिएको छैन ।

त्यसका साथसाथै कहिले देवनागरी लिपिमा त कहिले अँग्रेजी लिपि मै भन्ने विषयले पनि चर्चा पाइरहेको हुन्छ । जसका कारण पनि आम सवारीधनीहरु इम्बोस्ट नम्बर प्लेट लिनका लागि अन्यौलमा छन् ।

यति धेरै अन्योलताको बीचमा उक्त इम्बोस्ट नम्बर प्लेटको शुल्क अत्याधिक महँगो हुनाले पनि त्यसको प्रयोग बढ्न नसकेको देखिन्छ ।

दुइपाँग्रे सवारीसाधनको लागि २,५०० हलुका चारपाँग्रे सवारीसाधनका लागि ३,२०० र ठुला सवारीसाधनका लागि ३,६०० रुपैंया शुल्क तोकिएको छ ।

उक्त नम्बर प्लेट खासै गुणस्तरीय नहुँदा पनि सवारीचालकलाई सास्ती भएको छ ।

कच्चिबाटो वा बिग्रेको बाटोमा सवारीसाधन चलाउन प¥यो भने उक्त नम्बर प्लेट नै भाँच्चिने वा टुक्रिने समस्या समेत आएको पाइन्छ ।

पुनः अर्को नम्बर प्लेट लिनको लागि चर्को मुल्य चुकाउनुपर्ने वाध्यता पनि छ ।

नम्बर प्लेट हराएमा वा बिग्रेमा केहि कम शुल्क लिएर काम गरिदिनु पर्नेमा यातायात कार्यालयले त्यस वापत पनि नयाँ नम्बर प्लेट बराबर नै शुल्क लिइरहेको छ ।

समग्रमा भन्नुपर्दा समय सापेक्ष सवारीसाधन, सवारीचालक तथा अन्य सुरक्षा सम्बन्धि कामका लागि इम्बोस्ट नम्बर प्लेट आजको समयमा अनिवार्य र प्रभावकारी हुँदाहुँदै पनि सम्बन्धित निकायको वेवास्ताको कारण अलमलमा पर्नु विडम्बना नै मान्नुपर्छ ।

यसतर्फ सम्बन्धित निकायले यथासक्य चाँडो आवश्यक कदम चालोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *