विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

विमान दुर्घटनाको ४० दिनपछि चारजना बालबालिकाको जीवितै उद्धार भएको छ । कोलम्बियामा यस्तो चमत्कारिक घटना भएको हो ।

देशको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चारजना बालबालिकाको जीवितै उद्धार गरेको हो ।

कोलम्बियाली अधिकारीका अनुसारसेनाले देशको अमेजन जंगलबाट तेह्र, नौ, चार र एक वर्षका बालबालिकालाई उद्धार गरेको हो ।

सान होसे डेल ग्वाभियर सहरतर्फ उडिरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जंगलमा दुर्घटना हुँदा विमानका चालक, ती बालबालिकाकी आमा र एक स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो ।

घटनास्थलमा अन्यको शव फेला परे पनि विमानमा सवार बालबालिका भने हराइरहेका थिए । विमान जंगलमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो ।

दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जंगल क्षेत्रको सम्पूर्ण जानकारी भएका ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरी खोजी कार्य सुरु गरेको थियो ।

उक्त दुर्घटनाले विश्व समुदायको समेत ध्यानाकर्षण गरेको थियो ।

हिंस्रक जंगली जनावर, विषालु सर्प र सशस्त्र लागुऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन ।

तर, खोजी टोलीले खुट्टाको छाप, एउटा डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो ।

वायुसेनाले दश हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जंगलमा फ्याँकेको थियो, जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो ।

ती पर्चामा सो घना जंगलमा कसरी बाँच्ने भन्नेबारे सुझाब पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए ।

साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए ।

अन्ततः ती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला परेका थिए ।

बेपत्ता ती बालबालिकामध्ये केही सिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए । साथै उनीहरू जंगलसँग राम्ररी परिचित पनि थिए ।

राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरूको जीवितै उद्धार गरिएको घोषणा गर्दै भने, ‘आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौँ ।’

हेलिकोप्टरबाट उनीहरूको उद्धार गरिएको हो । बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पुर्‍याइएको छ ।

राष्ट्रपतिले ट्विटरमा सार्वजनिक गरेको तस्बिरमा सैन्य पोसाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एकजना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *