काठमाडौं-विद्युतीय कार खरिद गर्न चाहनेको पहिलो चासो त्यो कारले कति किलोमिटर रेन्ज दिन्छ, भन्नेमा हुने गर्छ।
एकपटकको फुल चार्जमा ४ सय किलोमिटरसम्म रेन्ज दिने विद्युतीय कारलाई संसारभरका उपभोक्ताले बढी रुचाउने गरेका छन्।
विद्युतीय कार उपभोक्ताको सबैभन्दा धेरै चिन्ता नै रेन्ज एन्जाइटी रहेको छ।
त्यसैले कार उत्पादकहरुले विद्युतीय कारको रेन्ज बढाउन र चार्जिङ पूर्वाधारको विकासमा ठूलो लगानी गरिरहेका छन्।
२०२१ को अन्त्यमा गरिएको एक अध्ययन अनुसार विद्युतीय कारको औसत रेन्ज ३ सय ४९ किलोमिटर रहेको थियो।
तर अहिले यो बढेको धेरैको अनुमान छ। यद्यपी हालसम्म नयाँ अध्ययनको निष्कर्ष भने आइसकेको छैन।
२०२१ मै भएको अध्ययन अनुसार पेट्रोलियम कारको औसत रेन्ज ६ सय ६५ किलोमिटर (फुल ट्यांक इन्धनमा) रहेको थियो।
२०२३ मा विश्व बजारमा उपलब्ध १० विद्युतीय कार जसले सबैभन्दा धेरै रेन्ज दिन्छ, त्यसबारे भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ।
ईपीए कम्बाइन्ड ड्राइभिङ रेन्जमा आधारित रहेर सर्वाधिक रेन्ज दिने कार छनोट भएको हो।
मुख्य गरी अमेरिकी बजारमा उपलब्ध यी कार विश्वका अन्य बजारमा समेत उपलब्ध रहेका छन्।
हालसम्म विश्व बजारमा बिक्रीका लागि उपलब्ध विद्युतीय कारमा सर्वाधिक रेन्ज दिने १० कारको सूचीको पहिलो स्थानमा लुसिड एयर रहेको छ।
यो कारले एक पटकको फुल चार्जमा ८ सय ३० किलोमिटर रेन्ज दिन्छ। अमेरिकामा यो कारको मूल्य १ लाख ३८ हजार डलर रहेको छ।
दोस्रो धेरै रेन्ज दिने विद्युतीय कारमा टेस्लाको मोडल एस रहेको छ।
टेस्ला मोडल एसले एक पटकको फुल चार्जमा ६ सय ५२ किलोमिटर रेन्ज दिन्छ।
विश्व बजारमा यो कारको मूल्य ८४ हजार ९ सय ९० डलर रहेको छ।
धेरै रेन्ज दिने विद्युतीय कारको सूचीमा तेस्रो स्थानमा कोरियाली कार उत्पादक कम्पनी हुन्डाईको आयोनिक सिक्स रहेको छ।
हुन्डाई आयोनिक सिक्सले एक पटकको फुल चार्जमा ५ सय ८१ किलोमिटर रेन्ज दिन्छ।
यो कारको बजार मूल्य ४५ हजार ५ सय डलर रहेको छ। हुन्डाईको आयोनिक फाइभ भने नेपाली बजारमा समेत उपलब्ध रहेको छ।
टेस्लाको अर्को विद्युतीय कार मोडल थ्री धेरै रेन्ज दिने १० कारको सूचीमा चौथो स्थानमा रहेको छ।
नेपाली बजारमा समेत उपलब्ध रहेको टेस्ला मोडल थ्रीले एक पटकको फुल चार्जमा ५ सय ७६ किलोमिटर रेन्ज दिन्छ। यो कारको बजार मूल्य ५५ हजार ९ सय ९० डलर रहेको छ।
धेरै रेन्ज दिने कारको सूचीको पाँचौँ स्थानमा मर्सिडिज बेन्जको ईक्यूएस रहेको छ।
यो कारले एक पटकको फुल चार्जमा ५ सय ६३ किलोमिटर रेन्ज दिन्छ भने यसको बजार मूल्य १ लाख ४ हजार ४ सय डलर तोकिएको छ।
यो सूचीको छैटौँ र सातौँ स्थानमा टेस्लाको मोडल एक्स र मोडल वाई रहेको छ।
छैटौँ स्थानमा रहेको मोडल एक्सले एक पटकको फुल चार्जमा ५ सय ६० किलोमिटर रेन्ज दिन्छ भने यसको मूल्य ९४ हजार ९ सय ९० डलर रहेको छ।
सातौँ स्थानमा रहेको मोडल वाईले एक पटकको फुल चार्जमा ५ सय ३१ किलोटर रेन्ज दिन्छ भने यसको मूल्य ५२ हजार ९ सय ९० डलर रहेको छ।
टेस्लाका यी दुवै कार नेपाली बजारमा आएका थिए भने मोडल वाई अहिले पनि नेपालमा बिक्री भइरहेको छ।
धेरै रेन्ज दिने विद्युतीय कारको सूचीको आठौँ स्थानमा हमरको विद्युतीय पिकअप छ।
यो विद्युतीय पिकअपले एक पटकको फुल चार्जमा ५ सय २९ किलोमिटर रेन्ज दिन्छ। यसको मूल्य १ लाख १० हजार २ सय ९५ डलर रहेको छ।
रिभियनको आर वान टी यो सूचीको नवौँ स्थानमा छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय २८ किलोमिटर रेन्ज दिन्छ भने यसको मूल्य ७८ हजार ८ सय डलर रहेको छ।
सूचीको दशौँ स्थानमा बीएमडब्लूको आईएक्स रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय २१ किलोमिटर रेन्ज दिन्छ भने यो कारको मूल्य ८७ हजार १ सय डलर तोकिएको छ।
१० धेरै रेन्ज दिने विद्युतीय कारको सूचीमा ४ वटा कार परम्परागत कम्पनीले उत्पादन गरेका हुन् भने बाँकी ६ वटा विद्युतीय कार विद्युतीय कार नै उत्पादन गर्ने गरी स्थापना भएका कम्पनीले बनाएका हुन्।
नेपाली बजारमा पनि पछिल्लो समय विद्युतीय कारको बिक्री बढ्दै गएको छ।
नेपाली बजारमा टेस्ला लगायत धेरै रेन्ज दिने यहाँको बजार आवश्यकता र अफोर्डेवल कार धेरैको रोजाइमा रहेको छ।
त्यसैले नेपाली बजारमा उपलब्ध विद्युतीय कारको औसत रेन्ज भने ३ सय किलोमिटर हाराहामीमा रहेको अनुमान छ।