सबैले हेल्मेट लगाउनुपर्ने

हालै काठमाण्डौँमा मोटरसाइक्लिस्ट सुरक्षा सम्बन्धि टाउकोको चोटपटक र हेल्मेटको महत्त्वबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरियो।

अन्तराष्टिय अटोमोबाइल फेडेरेशन (FIA) र नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोगमा तयार पारिएको सो अध्ययन प्रतिवेदन डा. पुष्प राजपन्त, डा. समन अर्याल, ई. सुयोग खनाल, सुवास भट्टराई र ईश्वर बल्लभ उप्रेतीको समूहले तयार पारेको हो।

प्रतिनिधि सभासदस्य तथा नेशनल एलायन्सका संयोजक मा. योगेश भट्टराई, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा एलायन्सकी सह संयोजक रंगमती शाही, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन जङ्ग थापा, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल लगायतले सो प्रतिवदेनको सार्वजनिकरण गर्नुभएको थियो।

प्रतिवेदनमा २०७९ सालको वैशाख, जेठ र असार महिनामा काठमाण्डौँको ट्रमा सेन्टर, शहिद स्मारक रमन मोहन मेमोरियल हस्पतालमा सडक दुर्घटनामा घाइते भएका ४१९ जनाको अध्ययन समेटिएको छ।

अध्ययन अनुसार कुल ४१९ घाइते मध्ये मोटरसाइकल र दुई पाँग्रे सवारीसाधन प्रयोगकर्ता सबै भन्दा बढि ३४९ घाइते भएका थिए।

तीमध्ये २३२ (६६%) चालकको रुपमा रहेका थिए । त्यसैगरि घाइते भएका ७३ जना चालकको पछाडी (पिलियन राइडर) रुपमा रहेका थिए भने ४४ जना पैदल यात्रुको संलग्नता थियो।

२३२ मोटरसाइकल चालकहरू मध्ये १४% लाई टाउकोमा चोटपटक भएको थियो भने ५५% को हात खुट्टामा चोटपटक भइ उपचार गरिएको थियो।

त्यसैगरि ७३ पिलियन राइडर मध्ये ३७% को टाउकोको, ३८% को हात खुट्टाको र १% को स्पाइनल चोटहरूको लागि उपचार गरिएको थियो।

टाउकोमा चोट लागेको ६२ जना घाइतेहरु मध्ये एकजनाको मृत्यु भएको थियो, एक कोमामा, दुई स्थायी रूपमा घाइेते, तीन उपचारार्थ र ५५ जनाको निको भएको थियो। सबै प्रकारका चोटहरूमा पुरुषको संख्या बढी थियो।

टाउकोमा चोट लागेका बिरामीहरूको उपचार निम्ति रु. ३ हजार देखि १८ लाखसम्म खर्च लागेको सो अध्ययनले देखाएको छ भने घाइतेहरु औसतमा २३ दिन हस्पतालमा उपचारको निम्ति बसेका देखिन्छ।

यसले पिडितहरुको आर्थिक, सामाजिक तथा व्यक्तित्व विकासमा समेत अकल्पनिय असर परेको दर्शाउँछ।

प्रतिवेदनले दुई पाँग्रे सवारी साधन प्रयोग गर्दा राइडर र पिलियन राइडर दुबैले गुणस्तरीय हेल्मेटको सही प्रयोगले टाउकोमा हुन सक्ने चोटपटकको सम्भावना निकै कम हुने देखाएको छ।

साथै सडक दुर्घटना पश्चात गरिने आपत्कलीन उद्दारका वर्तमान अवस्थालाई पनि सुधार गर्नुपर्ने कुरा औल्याएको छ।

अध्ययन कर्ताद्धय डा. समन अर्याल र डा. पुष्प राजपन्तले अध्ययन प्रतिवेदनको सारांश प्रस्तुत गर्दै नेपाल सरकार र सांसदले समेत अनाहकमा यूवाहरुको अकाल मृत्युलाई रोक्न र नेपाली सडकलाई भरपर्दो बनाउन गम्भिर हुन आग्रह गरे।

सार्वजनिकरणमा सडक सुरक्षाकी अध्येता भगवति सेढाई, नासा फाउण्डेसन नेपालका संयोजक कृष्ण सिंह बस्नेत, तथा मोटरसाइकल पिडित मध्येका एक गजेन्द्र बुढाथोकी र नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले प्रतिवेदन यथार्थपरक रहेको बताउदै दुई पाँग्रे सवारी साधन दुर्घटनाको रोकथामको निम्ति सवारी साधन प्रयोगकर्ता सबैले हेल्मेट लगाउनुपर्ने र अन्ततः सार्वजनिक यातायातको सुधार नै अन्तिम विकल्प रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *