दर्ता भयो यात्री मोटरसाइकल

काठमाडौ : नेपालमै उत्पादन भएको मोटरसाइकल यात्री दर्ता हुन थालेको छ।

नेपालमा सवारीसाधन दर्ताका लागि आयातको कागजपत्र चाहिने व्यवस्थाका कारण उत्पादन भएर पनि दर्ता हुन नसकेको यात्रीको मोटरसाइकल सोमबार (हिजो) यातायात व्यवस्था कार्यालय गर्जुधारामा दर्ता भएको छ।

गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी-१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो । तर, दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका थिएनन्।

कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको थियो । अब भने दर्ता सुरू भएको छ । यात्रीको पी-१ मोटरसाइकल नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो।

पी-१ यात्रीले नेपालमै उत्पादन गरिरहेको विद्युतीय मोटरसाइकल हो।

बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बरको पी-१ बाइकले पूर्णरूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ।

नेपालमा सवारी दर्ता गर्दा भन्सार प्रज्ञापनपत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था थियो।

सो व्यवस्था संशोधनपछि यात्रीले दर्ता हुन पाएको हो । यात्री मोटरसाइकलले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्यसँगै सन् २०१७ को डिसेम्बरमा कम्पनी दर्ता गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *