काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक किनारमा पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् ।
व्यवसायीहरु आफैंले पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरेर विरोध जनाएका छन् ।
महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरु विरोध जनाउँदै आफैंले पार्किङ लेखेको स्ट्यान्ड राखेका छन् ।
ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर तनाब सिर्जना भएको थियो ।
ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले बल प्रयोग गर्न खोजेपछि एक घण्टा मैतीदेवी चोकमा सडकमै व्यवसायीहरुले ट्याक्सी तेर्साएका थिए ।
त्यसपछि अहिले मैतीदेवीमा करिब २५ वटा ट्याक्सीहरु एक साइटमा पार्किङ गरेर आवागमन गर्ने अन्य सवारीलाई छेकेका छैनन् ।
एक घण्टा अवरुद्ध गरेपछि ५ जना ट्याक्सी व्यवसायीहरु ट्राफिक प्रहरी सहित महानगरपालिकामा वार्ताको लागि गएका छन् ।
काठमाडौं महानगरपालिकाले भने अनधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ।
‘हामीले पार्किङ दिन नमिल्ने ठाउँमा बोर्ड हटाएका थियौं, अहिले सुन्धारा मैतीदेवी लगायत स्थानमा आफैंले बोर्ड राखेर ट्याक्सी पार्किङ गरिरहेका छन्’, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।
उनले महानगरपालिका र ट्राफिक प्रहरीसँग छलफल नै नगरी अनधिकृत बोर्ड राखेको भन्दै महानगरपालिकाले सम्बन्धित वडा कार्यालय, ट्राफिक प्रहरसँग छलफल गरेर कारबाही गर्ने बताए ।
ट्याक्सी व्यवसायीहरु भने महानगरपालिका र ट्राफिक मिलेर सबैतिर ट्याक्सीलाई पार्किङ गर्न नदिएको भन्दै आन्दोलनमा छन् ।