करिब २४ लाख ९० हजार लिटर इन्धन भण्डारण हुने नेपाल आयल निगमको धनगढीस्थित प्रादेशिक डिपो बस्तीले घेरिएको छ ।
धनगढी उपमहानगरपालिका– ३ चटकपुरस्थित निगमको इन्धन भण्डारगृहको केही मिटरको दूरीमै दर्जनौँ घर छन् । स्थानीयका अनुसार डेढ–दुई दशकयता निगमको वरिपरि बाक्लो बस्ती बनेको हो ।
इन्धन डिपो बस्तीले घेरिँदा बस्ती र डिपो दुवैलाई जोखिम छ । यसले दुर्भाग्यवश कुनै अप्रिय घटना भए ठूलो क्षति हुने स्थानीय बताउँछन् ।
६ दकशदेखि धनगढीमा बस्दै आएका प्राध्यापक शिवहरी मुडभरीका अनुसार करिब दुई दशकअघिसम्म पनि डिपोवरिपरि बस्ती थिएन ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेर तराई झर्ने क्रम बढेसँगै भएको सहरीकरणले डेढ दशकयता डिपोवरिपरि बाक्लो बस्ती बन्न पुगेको उनी बताउँछन् ।
अति प्रज्वलनशील पदार्थ भण्डारण क्षेत्र वरिपरि बस्ती हुँदा अत्यन्तै ठूलो जोखिम रहेको मुडभरीले बताए ।
‘दुर्भाग्यवश आगलागी भए धेरै ठूलो क्षति हुने देखिन्छ,’ मुडभरीले भने, ‘त्यतिबेलाका लागि त्यहाँ डिपो राख्नु उपयुक्त नै थियो । अहिले बस्तीले घेरिएको छ । अब कि डिपो सार्नुपर्यो, कि बस्ती ।’
बस्ती सार्न सम्भव नहुने र डिपोमा आगलागी भए वरिपरिको बस्ती मात्र नभई सिंगो धनगढीमै ठूलो क्षति पुग्ने भएकाले डिपो सार्नुको विकल्प नरहेको मुडभरीले बताए ।