आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् ।
आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए ।
भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार नौ सय नौ सवारी साधन भन्सारमै थन्किएका छन् ।
आयात भएका कार/जीप छ सय २९, बस ३४, ट्रकका चेचिस आठ सय ४४, नयाँ चेचिस तीन सय ८६ र ट्र्याक्टर १० भन्सारमा थन्किएका छन्।
सवारी साधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ ।
‘आयातकर्ताले आयात गरेर त ल्याउनुभयो, तर बजारमा सवारी साधनको खासै माग छैन, त्यसैले उहाँहरुले जाँचपास गराएर सवारी साधन लैजान चासो देखाउनुभएको छैन’, उनले भने ।