कोटेश्वर र थापाथलीपछि धेरै नै ट्राफिक जाम हुने उपत्यकाकै अन्य चोक हुन्, तलितपुरको सातदोबाटो र ग्वार्को । ग्वार्को चोकमा फ्लाई ओभर निर्माण भइरहेकाले करिब ढेड किलोमिटर क्षेत्रमा सर्भिस लेनबाट सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् ।
भित्री लेनमा फ्लाई ओभर निर्माणसम्बन्धी काम भइरहेकाले यहाँ सधैँजसो सवारी जाम हुने गरेको छ ।
दक्षिण ललितपुरदेखिका सवारीसाधन ओहोरदोहोर गर्ने सातदोबाटो, चापागाउँ दोबाटो र एकान्तकुना चोकमा पनि धेरै नै ट्राफिक जाम हुने स्थान हो ।
सरकारले यी सबै चोकलाई समेट्ने गरी फ्लाई ओभर तथा अन्डरपास निर्माण योजना अघि बढाएको छ । तर, एउटै प्रोजेक्टअनुसार निर्माणसम्बन्धी काम हुन नसक्दा सडक प्रयोगकर्ता वर्षौँसम्म सास्ती भोग्न बाध्य छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले पहिलो चरणमा ग्वार्कोमा फ्लाई ओभर निर्माण सकिएपछि एकान्तकुनामा अन्डरपास र सातदोबाटोमा फ्लाई ओभर निर्माण गर्ने जनाएको छ ।
तर, एउटै सडकखण्डमा तीन चरणमा संरचना निर्माण हुँदा सर्वसाधारणलाई वर्षौँसम्म जामको मार पर्ने अवस्था छ । हाल निर्माणाधीन ग्वार्को फ्लाई ओभर दुई वर्षमा सक्ने लक्ष्य छ ।