नीतिगत जटिलताका कारण नेपालमै पहिलो पटक विद्युतीय मोटसाइकलको व्यावसायिक उत्पादन गरिरहेको ‘यात्री’ मोटरसाइकलले ६ महिनादेखि उत्पादन बन्द गरेको छ।
यात्री मोटरसाइकलले हालसम्म ८० वटाभन्दा बढी मोटरसाइकल बनाएर बिक्री गरिसकेको छ। तर यसरी बिक्री भएका मोटरसाइकलको सवारी दर्ता नै गर्न नमिलेपछि उपभोक्ता मारमा परेका छन्।
दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका छैनन्। कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको हो।
नेपालमा सवारी दर्ता गर्दा भन्सार प्रज्ञापनपत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था भएकाले समस्या भएको बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बताउँदै आएको छ।