काठमाडौं : नेपालमै पहिलो पटक विद्युतीय बाइक उत्पादन तथा बिक्री गर्ने कम्पनी यात्री मोटरसाइकल्सले आफ्नो टिम विदेशिएको हल्ला झुटो भएको बताएको छ ।
फेसबुकमा एक पोस्ट गर्दै कम्पनीले संस्थापक टिम विदेशिएको कुरा झुटो भएको प्रष्ट पारेको छ ।
सरकारले नेपालमा बनेका सवारी साधन दर्ता गर्न आवश्यक व्यवस्था नगरिदिँदा कम्पनीको उत्पादन करिब आठ महिनादेखि बन्द भएको कुरा बाहिर आएसँगै सामाजिक सञ्जालमा यो विषय बहसको विषय बनेको छ।
यस विषयमा प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले आवाज उठाउँदै स्वदेशमा उत्पादित सवारीको प्रवर्द्धनका लागि कानूनी हिसाबले सम्बोधन गर्न सुझाएका छन् ।
यात्रीले आफ्ना शुभेच्छुकलाई धन्यवाद पनि दिएको छ । साथै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहेको र आफूहरू यो लडाइँमा निरन्तर लडिरहने कम्पनीले उल्लेख गरेको छ ।