समाजसेवी एवम् हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिका निर्देशक ताराबहादुर कुँवर नेपाल सरकारबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित हुनुभएको छ ।
उहाँलाई नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले विभूषणद्वारा सम्मानित गर्नुभएको हो ।
चक्रपथ सफाइका अभियन्ता तथा सामाजिक व्यक्तिका रुपमा चिनिएका उहाँ समाजसेवी, कुशल व्यवसायीका साथै विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ ।
उहाँले आफ्नो जन्मभूमि काभ्रे भुम्लुका विभिन्न विद्यालयमा जाडोका लागि स्वेटर वितरण, नि:शुल्क स्वास्थ्य शिविर आदि प्रदान गर्दै आउनुभएको छ ।
साथै काभ्रेका विभिन्न ६ वटा क्याम्पसमा अक्षयकोष पनि खडा गर्नुभएको छ । निरन्तर समाजसेवा भन्दै २०७२ को भूकम्पका बेला उद्धार तथा राहतका वितरण गरेर चर्चा कमाएका कुँवर नेपाल हेभी इक्युपमेन्ट निर्माण व्यवसायी महासंघको संस्थागत अध्यक्षसमेत हुनुहुन्छ ।
कोरोनाका समयमा समस्या परेकालाई राहत वितरण गरेर उहाँले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नुभएको थियो ।
फरक क्षमता भएकाहरुलाई पटकपटक राहत वितरण गरेर समाजसेवाको गरिसकेका कुँवरले रगतको अभाव हुन नदिन धेरै पटक रक्तदान कार्यक्रम पनि गर्नुभएको थियो ।
यस्तै समाजसेवा गरेको प्रतिफलस्वरुप उहाँले प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित हुने मौका पाउनुभएको छ ।
संघर्ष, धैर्यता र परोपकारी काम निस्वार्थ भावनाले गरेबापत आफूले यो सम्मान पाएको उहाँले बताउनुभयो ।