हालै दुवइमा भने एक सवारीका पारखीले गाडीको नम्बर प्लेटलाई ठूलो मूल्य तिरेका छन् ।
दुवइमा भएको एक अक्सनमा ती व्यक्तिले गाडीको नम्बरका लागि ५ करोड ५० लाख दिरहाम (करिब १ अर्ब ९६ करोड नेपाली रुपैयाँ) तिरेका छन् ।
यो मूल्यमा चलन चल्तीका ब्राण्डका सयौं गाडी खरिद गर्न सकिन्छ ।
पी-७ नम्बरको यो उक्त नम्बर प्लेटले संसारकै सबैभन्दा महँगो नम्बर प्लेटको रुपमा गिनिज बुकमा नाम समेत लेखाएको छ ।
शनिबार दुवइमा भएको ‘मोस्ट नोबल नम्बर्स च्यारिटी’ अक्सनमा सो नम्बर प्लेट ५ करोड ५० लाख दिरहाममा लिलाम भएको थियो ।
भीआईपी कार प्लेट नम्बरको रुपमा रहेको पी-७ को लिलामीको सुरुमै आयोजकले प्रश्न गरेका थिए-१६ वर्षअघि अबुधावीमा एउटा विश्व कीर्तिमान कायम भएको थियो जब एउटा नम्बर प्लेट ५ करोड २५ लाख दिरहाममा विक्री भयो । के हामीले आज एउटा नयाँ कीर्तिमान राख्दैछौं त ?
उक्त लिलामी जुमेरास्थित फोर सिजन्स रिसोर्टमा भएको थियो । सुरुआती बोली डेढ करोड दिरहामबाट सुरू भएकोमा केही सेकेण्डमै तीन करोड दिरहामको बोली लागेको थियो ।
साढे तीन करोड दिरहामको बोली लागेपछि उक्त अक्सन केही बेर सुस्तायकाे थियाे । टेलिग्राम एपका संस्थापक पाभेल भ्यालेरिभिच दुरोभले त्यो बोली लगाएका थिए ।
तर केहीबेरपछि लिलाम बढाबढले गति लियो र त्यसको अन्तिम बोली ५ करोड ५० लाख दिरहाम अर्थात् करीब २ अर्ब रुपैयाँ पुग्यो । अन्ततः ती व्यक्तिले नै सो नम्बर प्लेट सकारे ।
उनले आफ्नो नाम भने खुलाएका छैनन् ।
उक्त लिलामीबाट उठेको रकम भने सिधै ‘१ बिलियन मील एंडोमेंट’ अभियान मा जानेछ । यो अभियानको उद्देश्य सबै भन्दाठूलो रमजान स्थायी खाध्य सहायता कोषको स्थापना गर्नू रहेको छ ।
यो अभियानलाई यूएईका उपराष्ट्पति तथा प्रधानमन्त्री दुवइका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमले सुरू गरेका थिए ।