जताततै डाइभर्सन भएका कारण यो सडकखण्डमा दुर्घटनाको जोखिम दिनहुँ बढ्दै गएको छ ।
नवलपुरमा मात्र पछिल्लो साढे दुई वर्षमा दुई सय ६५ दुर्घटना भएको र उक्त दुर्घटनामा परी एक सय नौजनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय, नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिए ।
राजमार्गको भद्रगोल अवस्थाले पर्यटन क्षेत्रमा समेत असर परेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सुराम महतोको भनाइ छ । यो सडकखण्डमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ ।
सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वीखण्ड (गैँडाकोट–दाउन्ने)मा २२ र पश्चिमखण्ड (दाउन्ने–बुटवल)मा १३ गरेर जम्मा ३५ अन्डरपास तयार हुने आयोजनाका प्रबन्धक राकेश झाले बताए ।
वन्यजन्तुका कारण हुने सडक दुर्घटनामा कमी ल्याउन तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने झाले बताए ।
पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ । यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र १६ मिटरसम्म फराकिलो हुने झाले जानकारी दिए ।