निगमको चारआली (झापा) स्थित शाखा कार्यालयमा इन्धन भण्डारणगृह छैन ।
त्यसैले आइओसीको सिलगुडी डिपोबाट तेल लिएर आएको ट्यांकरलाई पार्किङस्थलमा खडा गरेर सामान्य गुणस्तर परीक्षण गरी सोझै पेट्रोलपम्पमा पठाइने गरिएको छ ।
चारआली कार्यालयमा पेट्रोलपम्प सञ्चालकले नै इन्धन ढुवानी गर्ने बहुसंख्यक ट्यांकर करारमा लगाएका छन् ।
पम्प सञ्चालकले नै आइओसीको सिलगुडीबाट तेल ल्याउने र निगम कार्यालयमा सामान्य परीक्षण गराई आफ्नै पम्पसम्म डिजेल–पेट्रोल ओसार्ने गरेका छन् ।
आफ्नै पम्पका लागि तेल ल्याउने भएकाले ठूलो परिमाणमा मिसावट गर्न पम्प व्यवसायीले हिम्मत गरेको हुन सक्ने निगम अधिकारीहरूको भनाइ छ ।
किनभने पम्पमा आइसकेको तेलबारे कुनै गुनासो वा उजुरी भए मात्र गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने गरेको छ । नत्र, निर्वाध बिक्री हुने गर्छ ।
पम्प व्यवसायीको यस्तो हर्कतलाई आर्थिक प्रलोभनमा परी निगमको चारआली कार्यालयदेखि विराटनगर कार्यालयसम्मका कर्मचारीले साथ दिएको हुन सक्ने स्रोतको भनाइ छ ।
यसपटक समातिएका ट्यांकरको सबै पाँचवटै च्याम्बरमा मिसावटयुक्त डिजेल भेटिएपछि केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू अचम्मित छन् । किनभने यसअघिका घटनामा कुनै एक–दुई च्याम्बरमा मात्र मिसावटयुक्त तेल भेटिने गरेको थियो ।
‘एउटा ट्यांकरमा ल्याएको सबै तेलमा मिसावट भेटिनु अचम्मको कुरा हो,’ निगमका एक अधिकारी भन्छन्, ‘अझ भण्डारणगृह नभएको कार्यालयमा यस्तो अपराध गर्न सहज हुन्छ ।
त्यसैले यस्तो अपराधमा पेट्रोलपम्प सञ्चालक र हाम्रै कर्मचारीको गडबढी छ कि भन्ने कुरामा धेरै आशंका छ ।’