ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्ट्ज संस्थानले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजील्याण्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्रिफ्टी ब्राण्डहरू मार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।
हर्ट्ज संस्थान संसारभरमै यस प्रकारले सवारी भाडामा उपलब्ध गराउने ठूलो कम्पनीहरूमध्ये एक हो ।
विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ ।
त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ ।
प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले मलेशियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रीफिप्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग यो सहकार्य पछि काम गर्ने जनाइएको छ ।
साझेदारीपछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ ।
यो सुविधा अनुसार अव नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन् ।
हर्ट्जका एसिया प्रशान्त उपाध्यष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् ।
यसैगरी, प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए ।
उनले भने ‘हर्ट्जको प्रतिनिधि भएको काम गर्न पाउँदा उत्साहित छौं, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ ।
हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ, नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधा त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुनेछ ।’
प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ ।