अकालमै मृत्यु हुनुको पहिलो कारण सडक दुर्घटना हो

सडक र सुरक्षित सवारीको बारेमा अहिलेको नेतृत्व यस विषयमा पटक्कै गम्भीर छैन।

यदि देशको नेतृत्वकर्ता सडक सुरक्षाको बारेमा गम्भीर भएको भए दैनिक सरदर ७, ८ जनाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउँदैनथ्यो।

दिगो सडक र सुरक्षित सवारी विकासको पूर्वाधार हो। नेपाल जस्तो विकासशील देशमा त विकासको मेरुदण्ड नै हो।

यो बिना विकासको काम अगाडि बढाउन, आधुनिक र समृद्ध नेपाल बनाउन सकिँदैन भन्ने कुरा जगजाहेर छ।

यस सँगसँगै सडक यातायातको उचित र व्यवस्थित प्रबन्ध नहुँदा मानिसले रोजगारीको अवसर पाएका छैनन्। लगानीकर्ताहरूले नयाँ ठाउँमा लगानी गर्न पाएका छैनन्।

सबै स्थानमा सहज यातायातको व्यवस्था नहुँदा स्थानीय स्तरका उत्पादनको लागत पनि अत्यन्त महँगो भएको छ। बनेका सडक पनि सुरक्षित नहुँदा देशमा उत्पादन गर्नेभन्दा पनि सडक र सवारी दुर्घटनामा परेका मानिसको संख्या वृद्धि हुँदै गएको छ। जसका कारण आम नेपाली गरिबीको दुष्चक्रको सिकार भएका छन्।

हामी किन गरिब भयौं भनेर घण्टौँ छलफल गर्छौं। तर ती छलफलबाट गरिबीको मूल जरोसम्म पुग्न सकेका छैनौं।

हामी गरिब हुनुमा यातायात अत्यन्त खराब हुनु र भएको यातायात पनि महँगो हुनु हो।

यसले हामीलाई झनै गरिब मात्रै हैन, थप कमजोर बनाउँदै लगेको छ। अनि हामी अन्य देशमा निर्भर भएका छौं।

नेपालमा अकालमै मृत्यु हुनुको पहिलो कारण सडक दुर्घटना हो। हाम्रो उत्पादकत्व र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नुको कारण पनि सडकको दुरावस्था नै हो।

सरकार चलाउन जाने नेताहरूले भाषणमा नेपाललाई स्विजरल्याण्ड, सिंगापुर बनाउने सपना देखाएका छन्।

नेपाललाई त्यति सुविधायुक्त बनाउने हो भने त पहिले सडक पनि त्यहाँ भएको जस्तै सुविधासम्पन्न बनाउनु पर्यो नि।

हामीले गत चुनावमा दलका घोषणापत्रमा सुविधायुक्त सडक र सुरक्षित सवारीका एजेन्डा उल्लेख गर्न लगाएका थियौं।

केही दलले हाम्रो सुझाव मानेर सडक र सवारीको मुद्दा उठाएका छन्।

हेरौँ ती एजेन्डा कत्तिको लागू हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *