यातायात बन्द फिर्ता

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो ।  

मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो ।

यातायात मजदुर संगठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए ।

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।

बुधबारदेखि सार्वजनिक यातायात ठप्प पार्ने पूर्वघोषित कार्यक्रम सार्वजनिक गर्न गोंगबुमा जम्मा भएका मजदुर र नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको ल्होत्से बहुउद्देश्यीय प्रालि कर्मचारीबीच पार्किङको विषयमा साेमबार झडप भएपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रदर्शन झन् उग्र बनेको  थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संघको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीका दुई भ्यानमा आगजनी र प्रहरीको एक अस्थायी बिटमा आक्रमण भएको थियाे ।

त्यस्तै, एउटा एम्बुलेन्स तथा दर्जन सार्वजनिक र निजी सवारीसाधन तोडफोड गरिएको थियाे।

प्रदर्शनमा १० प्रहरी र दर्जन मजदुर घाइते भएका थिए। साेमबार अपराह्नदेखि रातिसम्म बसपार्क क्षेत्रमा निम्तिएको अशान्तिका कारण चक्रपथमा चल्ने स्थानीय सवारीसाधन मात्रै होइन, उपत्यकाबाहिर जाने रात्रिबस तथा अन्य सवारीसाधन पनि अलपत्र परेका थिए ।

यातायात व्यवासायी र मजदुरले सडकमा सवारीसाधन तेर्स्याएर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *