ट्रायलमा ७० अंकभारको नियम लागू 

नियम लागू भएपछि ट्रायल दिनेमध्ये ७० प्रतिशत उत्तीर्ण हुने अनुमान 

आगामी १ फागुनदेखि बागमती प्रदेशमा चालक अनुमतिपत्र (लाइसेन्स) मा ७० अंकभारको नियम लागू हुने भएको छ ।

उपत्यकामा रहेका विभिन्न ट्रायल सेन्टर र यातायात कार्यालयहरूको मिलेमतोका कारण हालसम्म यो नियम लागू हुन सकेको छैन ।

तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको पटक–पटकको निर्देशन र दबाबपछि बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले १ फागुनदेखि यो नियम लागू गर्न लागेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १ फागुनदेखि यो नियम लागू गर्न आइतबार निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कार्यालयको निर्णय र निर्देशनबमोजिम प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई मंगलबार परिपत्र गर्दै १ फागुनदेखि ७० अंकभारको नियम लागू गर्न निर्देशनसमेत दिएको छ ।

मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले ७० अंकभारको नियम लागू गर्ने तयारी पूरा भएको जानकारी दिए । उनले सबै यातायात कार्यालयलाई परिपत्र गरेकाले कार्यान्वयन भएरै छाड्ने दाबी गरे ।

‘यो नियम लागू हुँदा सेवाग्राहीलाई सहज हुन्छ, यातायात कार्यालयमा पनि चाप घट्छ,’ उनले भने, ‘त्यसैले यो नियम लागू हुँदै छ ।’

यो नियम लागू भए पनि ट्रायल दिनेमध्ये ७० प्रतिशत उत्तीर्ण हुने अनुमान गरिएको छ । हाल ट्रायलमा कडाइ हुँदा २५–३५ प्रतिशत मात्रै उत्तीर्ण हुने गरेका छन् ।

यो नियम लागू भए यातायात कार्यालयमा हुने चाप आधा घट्ने यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार संघीय मन्त्रालयको दबाबका कारण पनि यो नियम बागमतीमा लागू हुनसकेको छैन ।

‘यातायात व्यवस्था विभागलाई निकै कम जिम्मेवारी छ, जे काम पनि हाम्रो मातहतमा पर्दैन भनेर टार्न सजिलो छ, किनकि यातायातका अधिकांश अधिकार प्रदेश सरकारलाई छ,’ उनले भने, ‘अब भने १ फागुनदेखि लागू हुँदै छ ।’

उनले प्रदेश सरकारलाई पटक–पटक दबाब दिएपछि मात्रै यो नियम लागू हुन लागेको बताए ।

तर, अझै पनि राजनीतिक र यातायातका बिचौलियाले यो नियमलाई लागू हुन दिनेमा भने शंकै रहेको महानिर्देशक पाण्डेय बताउँछन् ।

सञ्चारमाध्यम र केन्द्र सरकारले दबाब दिने हो भने यो नियम सहजै लागू हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *