इन्धनको मुल्य दुईपटक घट्दा समेत घटेन भाडा

यातायात व्यवस्था विभागले तोकेको भाडाअनुसार काठमाडौंबाट बनेपा हुँदै धुलिखेल पुगेको बसभाडा ६३ रुपैयाँ हो ।

तर, व्यवसायीले यो रुटमा ७५ देखि ९० रुपैयाँसम्म असुल्दै आएका छन् । विभागले तोकेअनुसार उपत्यकामा सबैभन्दा छोटो रुट अर्थात् एक स्टेसनदेखि अर्को स्टेसनसम्मको भाडा १४ रुपैयाँ हो । तर, लोकल बस चढ्यो कि न्यूनतम २० रुपैयाँ लिन्छन् ।

यसबाहेक विद्यार्थी, ज्येष्ठ नागरिक र फरक क्षमताका व्यक्तिलाई ४५ प्रतिशत छुट हुनुपर्नेमा व्यवसायीले ३० प्रतिशत मात्रै छुट दिने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले अझै व्यवसायीहरूले घाटामा यात्रुहरू चढाइराखेको बताए ।

सरकारसँग कम्तीमा ५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्य घढेपछि मात्रै भाडा घटाउने सहमति भएको उनले बताए । सोहीअनुसार भाडा नघटेको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागको भाडादरअनुसार काठमाडौंदेखि कपिलवस्तु चन्द्रौटासम्म बस, डिलक्स बस र मिनिबसमा यात्रा गरेको सात सय ५० रुपैयाँ मात्रै लाग्नुपर्ने हो ।

करिब तीन सय २५ किलोमिटरको यो दूरीमा चल्ने यातायातका साधनले भने विभागले तोकेभन्दा दुई गुना बढी भाडा असुल्छन् ।

सजिलो सिट र एसी बसका नाममा यातायात व्यवसायीहरूले एक हजार चार सय ८० रुपैयाँ भाडा असुल्ने गरेका छन् ।

यस रुटका बस, डिलक्स बस, मिनिबस, सुपर डिलक्सलगायतले विभागले तोकेभन्दा दोब्बर भाडा असुल्दै आए पनि विभाग मूकदर्शक बनेको यात्रुहरूको दुखेसो छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा भाडादर बढाएका व्यवसायीले मूल्य घट्दा भने भाडा घटाएका छैनन् । विभागका अनुसार जतिसुकै सुविधा दिए पनि दोब्बर भाडा लिन पाइँदैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार व्यवसायीले डिलक्स तथा सुपर डिलक्स सुविधा दिए पनि विभागले तोकेको भाडादरभन्दा २०–३५ प्रतिशत बढी लिन सक्छन् । तर, दोब्बर भाडा लिन भने पाउँदैनन् ।

यो नियम पनि सुविधायुक्त लक्जरी बसका लागि मात्रै हो । सामान्य बस, मिनीबस र माइक्रो बसले विभागले तोकेकै भाडादरमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनुपर्छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विभागले तोकेकोभन्दा बढी भाडा लिएको गुनासो आए कारबाही गर्ने बताए । तर, महासंघले अन्तरप्रदेश मात्रै नभएर लोकल दूरीमासमेत यात्रु ठगिँदा अनुगमन र कारबाही गर्न सकेको छैन ।

‘सुविधासम्पन्न र नयाँ डिलक्स तथा सुपर डिलक्सले विभागले तोकेभन्दा केही प्रतिशत बढी भाडा लिन पाउँछन्,’ उनले भने, ‘तर, दोब्बर–तेब्बर भाडा असुल्न पाइँदैन ।’

सरकारले पछिल्लो डेढ महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य घटाए पनि यातायात व्यवसायीले भने भाडादर समायोजन गर्न आनाकानी गरेका छन् ।

व्यवसायीले झैँ यातायात व्यवस्था विभागले पनि नयाँ भाडादर कायम गरेको छ । यसअघि पछिल्लोपटक विभागले असारमा भाडादर समायोजन गरेको थियो ।

तर त्यसयता डिजेल, पेट्रोलसहित इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले डेढ महिनामा पेट्रोल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ  ।

निगमले ५ भदौमा डिजेलमा ६ रुपैयाँ घटाएको थियो । यस्तै, १ पुसमा पेट्रोलमा प्रतिलिटर तीन घटाउँदै एक सय ८१ बाट एक सय ७८ कायम भएको थियो ।

त्यतिवेला डिजेलमा पनि प्रतिलिटर तीन रुपैयाँ घटेको थियो । पछिल्लोपटक २४ पुसमा पनि पेट्रोल र डिजेलमा तीन–तीन रुपैयाँ मूल्य घटेको थियो । तर, गाडीभाडा भने यथावत् नै छ ।

विभागले यसअघि यातायात व्यवसायीसँग भएको सर्तका आधारमा नयाँ भाडादर समायोजन हुने प्रतिक्रिया दिएको थियो ।

विभागका महानिर्देशक टोकराज पाण्डेयले व्यवसायीले चर्को भाडा असुल्दा पनि व्यवसायीकै पक्ष लिए ।

उनले भने, ‘यसअघि ५ प्रतिशत मूल्य घटे मात्रै भाडादर समायोजन गर्ने सहमति भएको थियो, पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटे पनि ५ प्रतिशत पुगेको छैन ।’

तर, यो नियम कुनै लिखित नियम भने होइन । गत जेठमा व्यवसायी, आयल निगम र विभागबीच पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशत वृद्धि भए वा घटे यातायातको मूल्य पनि घटबढ गर्ने मौखिक सहमति भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *