दरबारमार्गमा पार्किङ हटाएपछि सुनसान

दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन्।

डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरूको भनाइ छ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गर्दै व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए।

अध्यक्ष तुलाधरले दरबारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरूले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरू आश्चर्यचकित भएको बताए।

बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए।

‘हामीले पहिले निःशुल्क पार्किङको व्यवस्था गर्‍यौं तर महानगरले स्मार्ट पार्किङका नाममा घण्टाको ८० रुपैयाँ असुल्न थाल्यो’, उनी भन्छन्, ‘हामीले प्रतिघण्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाइ भएन, अहिले त पार्किङ नै हटाइयो।’

पार्किङ पुनस्र्थापनाका लागि आग्रह गर्न आफूहरूले मेयर बालेन साहलाई पटक–पटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ।

‘महानगरले एकतर्फी निर्णय गर्‍यो तर यसको मूल्य हामीले मात्र होइन सरकारले पनि चुकाउने अवस्था आएको छ’, उनी भन्छन्, ‘हाम्रो दिनहुँ १०औं करोडमा हुने व्याापार आधा घटिसकेको, यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ।’

व्यवसायीहरूले पार्किङ अविलम्ब पुनस्र्थापनाको माग गर्दै अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

हाल दरबारमार्ग क्षेत्रमा ब्यानर टाँसी विरोध गरिएको छ। आवश्यक परे व्यवसाय नै बन्द गर्ने पूर्वअध्यक्ष कक्षपतिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *