काठमाडौंका सडक ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

पछिल्लो दुई सातामा काठमाडौंका सडकका ६५ प्रतिशत खाल्डाखुल्डी पुरिएका छन्। काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार खाल्डाखुल्डी पुर्ने अभियानलाई तीव्रता दिइएको छ।

डिभिजन प्रमुख नारायणप्रसाद निउरेका अनुसार काठमाडौंका सडकका ६५ प्रतिशत खाल्डाखुल्डीको मर्मत सकिएको छ।

‘बाँकी १० प्रतिशत खाल्डाखुल्डी मर्मत तथा पुर्ने प्रक्रियामा छौं,’ निउरेले भने, ‘२५ प्रतिशत समस्या मेलम्ची खानेपानी परियोजनाअन्तर्गत र नेपाल विद्युत् प्राधिकरणको कारणले सिर्जित भएका हुन्।

प्राविधिक रूपमा ती हाम्रो नियन्त्रणमा छैनन्।’ काठमाडौं डिभिजनका अनुसार मेलम्ची खानेपानी परियोजनाले नयाँ पाइप बिच्छ्याउन र विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गर्नका लागि अधिकांश खाल्डाखुल्डी पारेका हुन्।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडकसँग सम्बन्धित ८ निकायका प्रतिनिधिसामु सडक डिभिजन काठमाडौंले यस्तो तथ्य प्रस्तुत गरेको थियो।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठका सामु मेलम्ची खानेपानी परियोजना प्रतिनिधिले पानी लिकेजको समस्या पूर्ण हल गर्न असारसम्म पर्खनुपर्ने जानकारी दिएको थियो।

परियोजनाअन्तर्गत नयाँ वितरण प्रणालीको जाँच गर्न असारसम्मको अवधि लाग्नेछ। हाल पुरानो नेटवर्कबाट पठाउनुपर्ने भएकाले पानी लिक भइरहेको परियोजनाको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *