सडक दुर्घटना ठुलो समस्या हो : मेयर व्यञ्जु

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जुले सडक दुर्घटना ठुलो समस्या भएको बताएका छन् ।
मुलुकका होनहार, सक्षम र भविष्यका कणर्धारहरुको समेत सडक दुर्घटनामा मृत्यु भएको हुनाले यसलाई गिन्तीको रुपमा मात्र लिन नहुने उनको तर्क छ ।
सडक दुर्घटना कम गर्नका लागि सरकारी नीति, प्रदेश तथा स्थानीय निकाय तथा विभिन्न विभागबाट गम्भिरतापुर्वक लाग्नुपर्ने उनले बताए ।
खराब सडक तथा सवारीसाधनलाई लापरवाहि सँचालन लगायतका विभिन्न कारणहरुले गर्दा दिनानुदिन सडक दुर्घटना बढिरहेको बताउँदै उनले यसका लागि जनचेतना अभिवृद्धिका साथै अन्य आवश्यक कामका लागि पहल हुनु जरुरी रहेको बताए ।
खराब सडकको मर्मतको लागि टेण्डर प्रकृया नै झण्झटिलो र समय सापेक्ष नभएको उनको तर्क छ । नयाँ तथा ठुला सडक निर्माण परियोजनामा विभिन्न निकाय तथा सरोकारवालाको चासो भएता पनि सडक मर्मतका लागि त्यति चासो नदेखाएको उनको गुनासो छ ।
उनका अनुसार स्थानीय सरकारलाई पनि सडक मर्मतका लागि आवश्यक वजेटको व्यवस्था हुनुपर्ने हो । स्थानीय स्तरमा बिगे्र भत्केको सडक तर्फ सडक विभाग तथा माथिल्ला निकायको समय मै ध्यान आकृष्ट हुन सकेको हुँदैन ।
जसको कारण बिग्रिएको र भत्किएको सडकको बर्षौ सम्म मर्मत हुन नसक्दा सडक दुर्घटना बढेको मेयर व्यञ्जुको ठम्याई छ । सडक निर्माणमा गुणस्तरीय काम नहुँदा निर्माण सम्पन्न भएको छोटो अवधि मै सडक बिग्रने गरेको पनि उनले बताए ।
सडकमा राखिने बे्रकरले समेत कतिपय अवस्थामा दुर्घटना निम्त्याएको औंल्याउँदै मेयर व्यञ्जुले निश्चित मापदण्ड अनुसार सम्वन्धित निकायको अनुमतिमा मात्र त्यस्ता बे्रकरहरु निर्माण गर्न दिइनुपर्ने तर्क गर्दछन् ।
सडक दुर्घटनापछि तत्काल उपचारका लागि सम्बन्धित निकायको तदारुकता हुनुपर्ने भन्दै मेयर व्यञ्जुले लामो राजमार्गहरुमा निश्चित दुरीमा स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने बताए ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखा, टेकुको आयोजनामा हालै काठमाण्डौंमा कम लागतमा सडक सुरक्षा सम्बन्धी गोष्ठिमा बोल्दै मेयर व्यञ्जुले स्पष्ट र समय सापेक्ष नीति बनाएर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने राय व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *