सन् २०२२ मा भारतीय बजारमा सर्वाधिक विक्री हुने एसयूभीमा टाटा नेक्सन दर्ज भएको छ । यो कम्प्याक्ट एसयूभीले क्रेटालाई पछि पार्दै पहिलो पटक सर्बाधिक विक्री हुने एसयूभीमा दर्ज भएको हो । साथै नेक्सन सो वर्ष भारतमा सर्बाधिक विक्री हुने १० कारमा चौथो भएको छ ।
सन् २०१७ मा पहिलोपटक लन्च भएको यो एसयूभीले सुरुवाती समयमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । २०२० मा अपडेट भएर आएपछि भने यसले ग्राहकको विश्वास जित्न सफल भइरहेको छ । वर्षको अधिकांश महिनामा यसले क्रेटालाइ पछि पार्दै आइरहेको थियो ।
अघिल्लो वर्ष नेक्सन कुल १ लाख ६८ हजार २७८ युनिट विक्री हुँदा क्रेटाको बिक्री १ लाख ४० हजार ८९५ युनिटमा सिमित भएको थियो । सूचीको तेस्रो स्थानमा सुजुकी ब्रेजा रहन सफल भएको छ ।
ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएपछि यो एसयूभीलाई कम्पनीले सवैभन्दा सुरक्षित कम्प्याक्ट एसयूभी भनेर बजारिकरण गरिरहेको छ ।
नेपाली बजारमा समेत सफल वनिरहेको यो एसयूभी १.२ लिटर रेभर्टन टर्वोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल र १.५ लिटर फोर सिलिन्डर रिभोटर्क डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ ।
जसको पावर क्रमर्श १२० पिएस र ११० पिएस तथा टर्क १७० एनएम र २६० एनएम रहेको छ । यी दुवै पावर टे«नमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसको विकल्प दिइएको छ ।
नेक्सनमा भिन्न प्रकार ड्राइभिङ मोड, टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इन कार कनेक्टेड टेक्नोलोजी, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्ल्याट वटम स्टेरिङ ह्विल लगायत फिचर समावेश गरिएको छ ।