नेशनल एलायन्स वार्षिक बैठक सम्पन्न

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको वार्षिक बैठक तथा सडक सुरक्षासम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपालका सरकारी, पेशागत, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सांसदहरु, अभियानकर्मीहरु तथा विज्ञहरुको सहभागिता थियो ।

नेशनल एलायन्सका संयोजक योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नासा फाउण्डेशनका डा. पुष्पराज पन्तले “सडक सुरक्षाका लागी राष्ट्रिय र अन्तरराष्ट्रिय परिदृश्यमा स्वास्थ्यको अधिकार र सरकारी दायित्व” विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने अन्तरराष्ट्रिय अटोमोबाइल फेडरेसन एफ.आइ.ए. का गोविन्द भट्टराईले “सुरक्षित सडक तथा दीगो यातायात (सेफ रोड एण्ड सस्टेनेबल ट्रान्सपोर्टेशन) मा पेशागत र नागरीक संलग्नता” विषयक कार्यपत्र पेश गर्नु भएको थियो । उक्त कार्यपत्रमा विभिन्न वक्ताहरुले आआफनो धारणा राख्नु भएको थियो ।

नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका सि.इ.ओ. राजन श्रेष्ठ, प्रा.डा. बुलन्द थापा, राष्ट्रिय अपांग महासंघका देबु पराजुली, तथा नेपाल इन्जिनियर्स एशोसिएशनका रविभूषण झाले राज्यको दायित्वबारे आआफनो धारणा राख्नु भयो । त्यसैगरी विश्व स्वास्थ्य संगठनका तर्फबाट सुनील पोख्रेल, इन्टरमोडल ट्रान्सपोर्ट डेभलोप्मेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरणका लागी संचालित कार्यक्रमहरु अपर्याप्त रहेको र समस्याको परिमाण अनुरुप त्यसको सम्बोधनका लागी सरकारी र नेशनल एलायन्स एवम् विज्ञहरुको साझा प्रयास जरुरी रहेको धारणा व्यक्त गर्नु भयो ।

उक्त अवसरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले यस प्रकारको अभियानलाई प्रदेशस्तरमा विस्तार गर्न जरुरी रहेको बताउनु भयो भने संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले छलफलका निश्कर्षको संसदको आगामी योजना तथा कार्यक्रमहरुको प्राथमिकताका लागी सहयोगी हुने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा नेशनल एलायन्सका संयोजक योगेश भट्टराईले पेशागत, नारीक समूह एवम् विज्ञहरुबाट आएका सुझावहरु संसद र सरकारको लागी मार्गदर्शन बन्ने भन्दै अन्तरकृयाबाट प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालय र सरकारी निकायमा पुर्‍याउने बताउँदै अधिकारसम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषदको स्थापन त्यसतर्फको पहिलो खुट्किलो हुनेछ भन्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा पूर्व सांसद डा. दीपक प्रकाश भट्ट, संचारिका समूहका उर्वसी बस्न्यात, हिसानका उपाध्यक्ष रामहरी सिलवाल, नेपाल नेत्रज्योती संघका अध्यक्ष डा. चेतराज पन्त, काठमाडौं मेडिकल कलेजका प्राध्यापक डा. सुनीलकुमार जोशी, सामुदायक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापा, त्रिभुवन विश्वविद्यालयका जनसंख्या अध्ययन विभाग प्रमुख डा. योगेन्द्र गुरुङ र नासा फाउण्डेसनका संयोजक भगबती सेढाईंले आआफना विचार व्यक्त गर्नु भएको थियो ।

उक्त बैठकले प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा ३१ सदस्यीय नेशनल एलायन्स गठन गरेको छ भने सो एलायन्स अन्तरगत डा. रोहित कुमार पोख्रले, इ. रवीभूषण झा, उमेश ढकाल, ऋतु भट्ट, तारालाल श्रेष्ठ, दिनेश पाण्डे, रुजा पोखरेल र गोविन्द भट्टराई रहेको एक कार्य–समूह पनि गठन गर्दै यसको सचिवालय नासा फाउण्डेसन नेपालले गर्ने निर्णय गरेको छ ।

नेशनल एलायन्सको कार्यविधि, सदस्यता शुल्क, लक्ष्य तथा उद्देश्यहरु पारित गरेको छ भने बैठकले देहाय बमोजिमका निर्णयहरु गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सबै सरकारी निकायहरुमा सुझावहरु पेश गर्ने निर्णय पनि गरेको छ ।

  • लामो समयदेखि पेण्डिङ अवस्थामा रहेको सडक सुरक्षा ऐनलाई यथाशिघ्र पारित गर्ने व्यवस्था गरी पेशागत संघसंस्था, विज्ञहरु र नागरीक समाजको प्रतिनिधित्व हुने गरी देशमा सडकहरुमा सुरक्षित यातायातको सुनिश्चितता गर्ने कार्यादेश सहित एक स्वायत्त र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् (नेशनल रोड सेफ्टी काउन्सिल) को गठन ।

  • संयुक्त राष्ट्र संघले आगामी २०२१–२०३० को दशकका लागि निर्धारित सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्यालाई आधा पार्ने र सडक सुरक्षा व्यवस्थापन गर्ने कार्ययोजना समेत समेटिएको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२३–२०३० यथाशिघ्र जारी गर्न ।

  • विघटित संसदीय समितिले दिएका प्रतिवेदनहरुको अध्ययन र कार्यान्वयनका लागि सरोकारवाला मन्त्रालयहरुसँग समन्वय गरी विद्यमान सरकारी ऐन, नियम र कानूनहरु पालना गर्न गराउन संघीय, प्रादेशिक र स्थानीय तहसँग अन्तरसरकारी समन्वय गर्दै राष्ट्रिय एलायन्ससँगको सहकार्यमा कार्यगत योजना तयार गरी कार्यान्वयन गर्न ।

  • उपत्यका सार्वजनिक यातायात प्राधिकरण सुचारु गर्न र देशभरी संचालन भइरहेको सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र वैज्ञानिक बनाउने ।

  • उच्च जोखिममा रहेका सडक प्रयोगकर्ताहरु (Vunerable Road Users) जस्तैः पैदलयात्री, साइकल प्रयोगकर्ता, मोटरसाइकल प्रयोगकर्ताहरु र व्हीलचेयर प्रयोगकर्ताहरुको यात्रा सुरक्षित बनाउने उपायहरु कार्यान्वयन गर्न ।

  • सडक सुरक्षा, सडक चिन्ह र संकेत, सवारी साधनका मापदण्ड र विश्वव्यापी नियमावलीहरु, सवारी साधनको निरीक्षण, अन्तरराष्ट्रिय परिवहनमा कार्यरत यातयात मजदूरका लागी सन्धी लगायतका संयुक्त राष्ट्र संघले सिफारिस गरेका महत्वपूर्ण सन्धीहरु अनुमोदन गर्न।

  • संयुक्त राष्ट्र संघका सन्धीको व्यवस्था अनुसार International Driving Permit (IDP) र कार्ने डे पासे (CDP) जारी गर्न व्यवस्था मिलाउन ।

  • नेपालका सडकहरुलाई सबै प्रयोगकर्ताका लागी सुरक्षित गर्न iRAP ले सिफारिस गरेको स्टार–रेटिङ रोड र स्टार रेटिङ स्कूल र Global NCAP ले सिफारिस गरेका मापदण्ड अनुसार नेपालमा आयात गरिने वा निर्माण गरिने नयाँ कारहरुको स्टार–रेटिङ गर्ने व्यवस्था मिलाउन ।

  • सडक बनाउन बोलपत्र आव्हान गर्दा मोल घटाघटी गर्नेभन्दा पनि सडक सुरक्षाका उच्चतम मापदण्ड सहितको गुणस्तरीय बनाउन बाध्यकारी नियम बनाउन ।

  • विद्यालय र महाविद्यालयका पाठ्यक्रमहरुमा विज्ञहरुको राय अनुसार सडक दुर्घटना सचेतना, दीगो र वातावरण मैत्री यात्रासंस्कृति सम्बन्धी पाठ र विषयवस्तु समावेश गर्न ।

  • नेपालका ड्राइभिङ स्कूलहरुलाई स्तरोन्नती गरी हेभि भेहिकल ड्राइभिङ तालीमको व्यवस्थापन गर्न ।

  • अटोल्याण्डको व्यवस्था, यात्रुबसको बडीको गुणस्तर निर्धारण गर्न ।

  • मोटरसाइकल यात्रुलाई अनिवार्य, सही र गुणस्तरी हेल्मेट प्रयोगको नियम कार्यान्वयन गर्न ।

  • वैदेशिक रोजगार, अध्ययन जस्ता लामो अवधिका लागी विदेश जाने नेपालीहरुका लागी सडक सुरक्षा सचेतनाको व्यवस्था गर्न ।

  • बीमा ऐनलाई समयानुकुल परिमार्जन गर्दै सडक दुर्घटनाका पीडितहरु, सवारी साधनका धनीहरु र अन्य सबै किसिमका सडक प्रयोगकर्ताहरुलाई सुरक्षित भएको आस्वस्त बनाउन ।

  • सडक दुर्घटनाका पीडितहरुलाई उद्दार, उपचार, पुनःस्थापना, राहत तथा न्याय सुनिश्चित गर्न आवश्यक संरचनाहरु र कार्यविधि तयार गर्न ।

  • सडक सुरक्षाका विभिन्न पक्षहरु लगायत यातायातका पूर्वाधार सम्बन्धी कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्दा आवश्यक पर्ने र योग्य एवम् दक्ष जनशक्ती परिचालन अनिवार्य गर्न सोका लागी उपलव्ध संस्था एवम् जनशक्तिको रोष्टर बनाउन ।

नेशनल एलायन्सका सम्पूर्ण सदस्यहरुको कार्यक्षमता विकास र विस्तार, राष्ट्रिय र अन्तरराष्ट्रिय आवद्धता लगायतका क्षेत्रमा मन्त्रालयहरु र सम्बन्धित निकायको सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *