अटो पत्रकार(जाम)द्धारा मन्त्रिलाई सुझाव

अटो पत्रकार संघले भौतिक पूर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ । वुधवार संघका अध्यक्ष उज्जवलजंग शाहको नेतृत्वमा गएको टिमले कार्यकालको सफलताका कामनासहित बधाई ज्ञापन गर्दै १४ बुँदे सुझाव दिएको छ ।

संघका महासचिव सागर गजुरेलले मोविलिटी क्षेत्रको सुधारको लागि उपप्रधानमन्त्री श्रेष्ठबाट कदम चाल्ने विश्वास व्यक्त गर्दै यातायात क्षेत्रको सुधारमा मन्त्रालयले विशेष जोड दिनु पर्ने धारणा राखेका थिए ।

संघको तर्फबाट मन्त्री श्रेष्ठलाई सार्वजनिक यातायातको गुणस्तर सुधार, विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने, सडक ट्राफिक लाइटलाई व्यापक बनाउनु पर्ने, करिडोरमा ट्राफिक व्यवस्थापन, सडक सेफ्टी अडिट, सडक सुरक्षामा व्यापक जनचेतना जगाउने सुझाव प्रदान गरिएको छ ।

त्यसबाहेक पठाओ लगायत राइड सेयरिङ कम्पनीलाई व्यवस्थित बनाउने, सवारी साधन अनुमतिपत्र सम्बन्धीत कार्यालयलाई अख्तियारी दिने, हरेक प्रदेशमा भेहिकल फिटनेश सेन्टर स्थापना गर्नुपर्ने सुझाव संघले दिएको छ ।

मन्त्री श्रेष्ठले अटो पत्रकार संघले दिएका सुझाव सम्बिन्धित पक्षसँग छलफलगरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सार्वजनिक यातायात अवस्थाको गुणस्तर एकदमै नाजुक रहेको बताउँदै त्यसमा गुणात्मक सुधारमा आफ्नो ध्यान रहने बताए । मन्त्रीले सुशासन, यातायात क्षेत्रको व्यवस्थापन र भौतिक पूर्वधार सुधारमा केन्द्रित हुने बताए ।

यस्ता छन सुझाव

१. सार्वजनिक यातायातको गुणस्तर सुधार गर्न मापदण्डमा भएका ब्यवस्था कार्यान्वयन गर्नु पर्ने ।

२. विद्युतीय साधनको प्रयोगलाई बढवा दिदै पुराना हरियो माइक्रोहरु तत्काल वन्द गर्दै सकेकोखण्डमा ईभीमा रुपान्तरण गर्दा केही सहुलियत दिँदा राम्रो हुने ।

३. ट्राफिक लाइटलाई ब्यापक बनाउने र भएका बत्ती एक महिना भित्र दुरुस्त बनाउने ।

४. करिडोरमा ट्राफिक ब्यवस्थापन उचित ढंगले गर्न विज्ञ टोलीले दिएको सुझाव कार्यान्वयन गर्ने । आवश्यक परे नयाँ विज्ञ टोली गठन गर्ने ।

५. बिपी हाइवेमा बढ्दो ठूला सवारीसाधनको प्रबेश तत्काल रोक्ने ।

६. देशभर सडक विभाग मातहत रहेका सडकको सेफ्टी अडिट गर्ने ।

७. सडक सुरक्षा र ट्राफिक सुरक्षाको विषयमा ब्यापक जनचेतना जगाउने ।

८. पठाओ लगायतका राइड एण्ड सेयरिङ कम्पनीहरुमा आवद्ध सबै सवारीसाधनमा कानुन बनाएर फरक नम्बर प्लेट प्रयोगमा ल्याउने ।

९. ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयन गर्ने । सके पूर्ण विद्युतीय नभए कम्तीमा बीएस ६ मापदण्डको १००० सीसी माथिका गाडीको प्रयोग अनिर्वाय गर्ने ।

१०. ड्राइभिङ लाइसेन्स परिक्षा र कार्ड छपाई सम्बन्धीत कार्यालयलाई अख्तीयारी दिने ।

११. ट्राफिक नियम उल्घंनमा लाग्ने जरिवाना १०० प्रतिशतले वृद्धि गर्ने । साथै, लेन क्रसलाई धेरैभन्दा धेरै निरिक्षण गराउने ।

१२. यातायात कार्यालयबाट दिइने सेवा पूर्ण डिजिटल गर्ने । लाईसेन्स १० वर्षमा मात्रै नविकरण गर्ने ब्यबस्था गर्ने ।

१३. हरेक दिन सवारीसाधनको प्रदुषण परिक्षण गर्ने टिम सडकमा खटाउने । साथै, ट्रायलमा ७० प्रतिशत अंक ल्याउदा पास हुने ब्यवस्था पूर्ण कार्यान्वयन गर्नु पर्ने ।

१४. सबै प्रदेशमा सुविधा सम्पन्न भेहिकल फिटनेश सेन्टर स्थापना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *