ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको हो ।
सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्ता किताब) लगायतका कसुरमा १५ सय तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
ट्राफिक नियम पालना बढ्ने र यसबाट दुर्घटना घट्ने अपेक्षाले अधिकतम जरिवाना लिन थालिएको उनको भनाइ छ ।
त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको प्रहरी बताउँछ ।
रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा र लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।