निकै महत्वका साथ अघि बढाइएको नेपाल–चीन अन्तरदेशीय (केरुङ–काठमाडौं) रेलमार्गको अध्ययन गर्न ढिलाइ भएको छ । ०७५ (सन् ०१८) मै यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको थियो । तर, पूर्वसम्भाव्यता अध्ययन भएको चार वर्ष बितिसक्दासमेत आयोजनाको सम्भाव्यता अध्ययन सुरु नभएको हो ।
पछिल्लोपटक चिनियाँ विदेशमन्त्री वाङ यीको १३ चैतमा नेपाल भ्रमणमा आउँदा अध्ययनमा प्राविधिक सहायता दिने सम्झौता भएको थियो । साथै, गत साउनमा परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा त्यहाँका विदेशमन्त्री वाङ यीले यो वर्ष (०२२) को अन्त्यसम्ममा सम्भाव्यता अध्ययन सुरु गर्ने बताएका थिए । तर, वर्ष ०२२ सकिन लाग्दासमेत चिनियाँ पक्ष आयोजनाको अध्ययन गर्न आएको छैन ।
चीनले कोभिडको कारण देखाउँदै रेलमार्ग अध्ययनको काम अघि बढाएको छैन । कोभिडको जोखिम सकिएको भए पनि नेपालले चीनलाई सम्भाव्यता अध्ययनका लागि दबाब दिएको छैन । पछिल्लो समय स्वयं नेपालले पनि यस कार्यलाई बेवास्ता गर्दै आएको सरकारी अधिकारीहरू नै बताउँछन् ।
रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नेपाल–चीन रेलमार्गको अध्ययन सम्बन्धमा पछिल्लो समय कुनै पनि गतिविधि नभएको बताए । ‘निकै महत्वका साथ यो परियोजनाको अवधारणा अघि बढाइएको हो । तर, अहिले यसमा केही पनि गतिविधि भएको छैन,’ उनले भने ।