पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन्।
व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ।
पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरूका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन्।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हिमाल गैरेले रुपन्देहीको भैरहवामा आज आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स सङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरे पनि यस क्षेत्रमा नगरेको बताए।
‘अहिले नेपाल आयल निगमले प्रतिलिटर एक सय ३१ को लगानीमा रहेको डिजल एक सय ७५ र रु एक सय ४९ रहेको पेट्रोल कमिशनमा एक सय ७८ का दरले बेचिरहेको छ’, उनले भने, ‘अहिलेसम्म पुरानै दररेटमा कमिशन पाइरहेका छौँ, हामीले थप लगानी गर्नुपरिरहेको छ। तर लगानीअनुसारको प्रतिफल हामीले पाइरहेका छैनौँ।’
नेपाल आयल निगमले घाटा पूर्ति गर्नका लागि बढी रकममा पेट्रोलियम पदार्थ बेचीरहँदा पनि निगमलाई जोगाउन एसोसिएसनले सहयोग गरिरहेको उनले बताए।
निगमलाई सहयोग गरिरहे पनि निगमको व्यवसायीलाई हेर्ने नजर भने सहयोगी नरहेको उनको आरोप छ।
नेपाल र भारतको सीमावर्ती क्षेत्र भएका कारण यसको प्रत्यक्ष मारमा पेट्रोलियम व्यवसायी पर्ने गरेका छन्।
अहिले भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ ३८ महँगो छ। यसले यस क्षेत्रका व्यवसायी प्रभावित बनेको केन्द्रीय सचिव गैरेले बताए।
‘अहिले नेपालीले भारतमा गएर तेल हालीरहेका छन्, यहाँको प्रशासन मौन छ’, उनले भने, ‘भारतमा गएर तेल हाल्दा नेपालले राजस्व गुमाएको छ, हामी बेरोजगार हुने अवस्थामा पुगेका छौँ।’