विगत ५ महिना देखि टाटाको नेक्सन इभि चलाउदैं आएका डा. मोहन भुषालले काठमाण्डौं भित्र कार्यक्षेत्र हुनेलाई विद्युतीय सवारीसाधनमा रेन्जको चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताउँछन् ।
काठमाण्डौं भित्र कार्यक्षेत्र हुनेहरु सामान्यतयाः दिनमा ५० किलोमिटर भन्दा कम कुद्ने गरिन्छ । उनको विचारमा सालमा १-२ पटक मात्र काठमाण्डौं उपत्यका छोडेर बाहिर जानेले पनि रेन्जको चिन्ता लिएकोमा उनको विमति छ ।
आवाज पनि खासै नआउने, धुवाँ तथा प्रदुषणको समस्या पनि नहुने हुँदा विद्युतीय सवारीसाधन निक्कै मन परेको उनको भनाई छ ।
त्यसमा पनि मुलुकको अर्थतन्त्रको हिसाबले पनि पेट्रोलियम पदार्थमा बाहिर जाने वैदेशिक मुद्रा मुलुकमै सँचित हुने हुँदा पनि नेपाल र नेपालीका लागि विद्युतीय सवारीसाधन अति उपयुक्त भएको उनको बिचार छ ।
खर्चको हिसाबले पनि विद्युतीय सवारीसाधन प्रयोग निक्कै सस्तो परेको हुन्छ । ५ महिनाको अवधिमा आफुले चार्ज गरेको बाहेक अन्य खर्च गर्न नपरेको उनले बताए ।
पेट्रोलियम सवारीसाधनमा हरेक दिन जसो गरेको खर्चको तुलनामा त विद्युतीय सवारीसाधन चलाउँदा निःशुल्क चलाएको झैं लाग्ने उनले बताए ।
काठमाण्डौंमा बस्नेहरुको लागि चार्जिङ्ग स्टेसन खासै आवश्यक त होइन । सबैले आआफ्नै घरमा नै चार्ज गर्ने गर्दछन् ।
तर पनि कतिपय अवस्थामा भने आवश्यक पर्न जान्छ । जसका लागि सरकारले यथेष्ट मात्रामा चार्जिङ्ग स्टेसनको स्थापना भने गरिदिनुपर्ने उनको राय छ ।
काठमाण्डौं बाहिरका मुख्य मुख्य शहरहरुमा पनि चार्जिङ्ग स्टेसन सँचालन भएको भन्ने समाचार त सुनेको हो । ती चार्जिङ्ग स्टेसनमा प्राविधिक समस्या आएमा त्यसको वैकल्पिक व्यवस्था हुने गरी चार्जिङ्ग स्टेसनको सँख्या बढी हुनुपर्ने उनको तर्क छ ।
डा. भुषाल काठमाण्डौंको चावहिल चुच्चेपाटीमा अवस्थित मिराकल स्किन, हेअर तथा एस्थेटिक क्लिनिकका चिकित्सक तथा संचालकको रुपमा कार्यरत रहेका छन् ।
Post Views: 144