सरकारले लामो समयदेखि सवारीसाधनमा लगाएको आयात प्रतिबन्ध खोल्न चासो नदेखाएको भन्दै अटोमोबाइल एशोसियसन अफ नेपाल (नाडा)ले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
गत वैशाख देखि लगाएको आयात प्रतिबन्धको कारणले अटोमोबाइल व्यवसाय ध्वस्त हुन लाग्दा पनि सरकारले खोल्न चासो नदेखाएको भन्दै नाडाले शुक्रबार पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। नाडाका अध्यक्ष धुर्व थापाले सामाजिक सञ्जालमा तस्बिर राखि नाडाले आन्दोलनको सुरुवात आजैबाट गरेको बताए।
शोरुम र गाडीहरुमा आफ्ना माग तथा नाराहरु टाँस्दै माइतीघरसम्मको आन्दोलनमा जाने नाडाको योजना छ। नाडाले मंसिर २२ गते काठमाडौंको माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालो लुगा लगाई धर्ना दिने पनि जनाएको छ।
‘सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिबन्ध लगाएको छ,’ नाडाले भनेको छ ‘आयात प्रतिबन्धका साथसाथै अटोमोबाइल व्यवसायसंग सम्बन्धित विषयहरुमा राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसाय अमैत्री नीतिहरु (हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी) ल्याएको छ।
यस्ता नीतिहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका छन्।’ नाडाकाअनुसार सयौं अटोमोबाइल शोरुमहरु बन्द भईसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन्। हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको ब्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको नाडाको निष्कर्ष छ।
सरकारले यस क्षेत्रलाई विलाशी वस्तुहरुमा वर्गिकरण गर्दै त्यसै अनुरुपको उच्च महशुल लगाउँदै व्यवसायलाई नै निरुत्साहित गर्ने उद्धेश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोध ल्याएको नाडाको आरोप छ।
‘सरकारले नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गर्न हामीले निरन्तर औपचारीक र अनौपचारीक माध्यमहरुबाट सम्बद्ध मन्त्रालयहरु र राष्ट्र बैंकसंग अनुरोध गर्दै आएका छौं,’ नाडाले विज्ञप्तिमा भनेको छ ‘हामीले जति अनुरोध गर्दा पनि कुनै सुनवाई नभएपछि चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका छौं।’