तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ९ कात्तिक ०७६ मा अमलेखगन्जदेखि चितवनसम्मको ६२ किलोमिटर लामो पेट्रोलियम तथा ग्यास पाइपलाइनको सर्भे गर्न शिलान्यास गरेका थिए । उक्त सर्भेबाट चितवनमा पेट्रोलियम पाइपलाइन मात्रै बनाउन सकिने र ग्यासका लागि सर्लाहीमा भण्डारणगृहसहित पाइपलाइन लैजानुपर्ने देखिएको छ । तर, अहिलेसम्म दुवै स्थानमा परियोजनाले गति लिन सकेको छैन ।
निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगज्जका प्रमुख प्रदीप यादवले तीन वर्षदेखि अध्ययन र कागजी प्रक्रियामा मात्रै परियोजना अल्झिरहेको बताए । ‘चितवन र सर्लाहीमा जग्गा तयारी अवस्थामा छ, तर विविध कारणले निर्माण सुरु हुन सकेको छैन,’ उनले भने, ‘दुवै ठाउँमा पाइपलाइनसहित भण्डारणगृह बनाउने हो भने मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि कुनै चिन्ता लिनुपर्ने अवस्था रहँदैन ।’
तीन वर्षअघिबाट सञ्चालनमा आएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ । यो पाइपलाइनबाट पेट्रोल र मट्टीतेलसमेत ल्याउन सकिने भए पनि अमलखेगन्जमा भण्डारणगृह नबन्दा डिजेल मात्रै आइरहेको छ । निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवले पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउनका लागि बल्ल तयारी थालिएको बताए ।
‘पाइपलाइनबाट पेट्रोल ल्याउन ठूला क्षमताका भण्डारणगृह बनाउनुपर्छ । भर्खरै पेट्रोल भण्डारण गर्न मिल्ने चार ठूला ट्यांकी निर्माणका लागि टेन्डर आह्वान भएको छ । अब यो ट्यांकी निर्माण भएपछि मात्रै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल पनि ल्याउने हो,’ उनले भने । ट्यांकी निर्माणका लागि दुई वर्ष समय तोकिएको छ ।