– शंकर शर्मा
सन १९८६ देखि आफ्नो प्रदर्शनीमा उत्रिएको दिल्ली अटो एक्स्पो २०२० को श्रृंखलासम्म आईपुग्दा एक पछि अर्को गर्दै बृहत र भव्य प्रदर्शनी गर्दै आईरहेको थियो ।
हरेक दुई बर्षमा एकपटक भारतको नयाँ दिल्लीमा लाग्ने विश्वस्तरीय अटो मेला अघिल्लो पटक भने स्थगित गरिएको थियो ।
द सोसाईटी अफ ईण्डियन अटोमोवाईल म्यानुफ्याक्चरर (एसआईएएम) ले आयोजना गर्दै आईरहेको उक्त प्रदर्शनी कोरोना महामारीलाई मध्यनजर राख्दै स्थगित गरिएको थियो । गत फेब्रअरी २ देखि ९ तारिकसम्म नयाँ दिल्ली नजिकै ग्रेटर नोयडाको ईण्डिया एक्स्पो मार्टमा प्रदर्शनीको मिति तय भएको थियो ।
कोरोनाको तेश्रो भेरियन्टले गर्दा त्यहाँ आउने आगन्तुक, प्रदर्शक तथा सरोकारवालाहरुलाई कुनै किसिमको हानी नहोस भन्ने आयोजकको चाहना भएकाले अहिले तय भएको मितिमा प्रदर्शनी नगरिएको बताईएको छ ।
भारतीय अटोमोवाईल उद्योगका लागि यो प्रदर्शनी एक उत्सव नै भएको जनाउँदै आयोजक एसआईएएमले भिडभाड धेरै हुने हुनाले भौतिक दुरीको सम्भावना नभएकाले पनि प्रदर्शनी रोक्न परेको जनाएको छ ।
तर अहिले कोरोनाको प्रभाव न्युन भएका कारण यहि आउँदो जनवरी १३ देखि १८ सम्म सँचालन हुने भएको छ ।
के कस्तो हुन्छ त प्रदर्शनी ?
हरेक प्रवेशद्वारमा कडा सुरक्षा व्यवस्था गरिने उक्त प्रदर्शनीमा प्रवेश शुल्क ५ सयदेखि ७ सय पचास भारतीय रुपैंया राखिएको हुन्छ । बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म अफिसियल आवर र दिउँसो १ बजे देखि बेलुका ६ बजेसम्म जनरल आवर गरी दुई भागमा समय छुट्टाईएको हुन्छ ।
बिहानको अफिसियल आवरमा कारोबार गर्नेहरुको समय भएकाले सबैभन्दा महंगो टिकटको व्यवस्था गरिएको हुन्छ भने दिउँसो १ बजे पछिको जनरल आवरमा आम पब्लिकको लागि केहि सस्तो टिकटको व्यवस्था हुने भएकाले जनरल आवरमा निक्कै ठुलो भिड हुने गर्दछ ।
अत्यन्तै व्यवस्थित, भव्य र सुसज्जीत स्टलहरुमा आकर्षक मोडेलहरुका साथमा कार तथा अन्य मोटरहरु प्रदर्शन गरिएका हुन्छन् । केहि कम्पनीका छोडेर अधिकाँश कम्पनीका प्रदर्शनी ईनडोर नै हुन्छन् । करिब ३५ बिगाह क्षेत्रफलमा फैलिएको उक्त प्रदर्शनी स्थलमा भएका ठुला ठुला भवन भित्र नै प्रदर्शनी गरिएको हुन्छ ।
उक्त प्रदर्शनी स्थलमा बाहिर पट्टि ठुला ठुला चौर र पार्कहरु पनि निर्माण गरिएका छन् । केहि कम्पनीहरुले ती चौर तथा पार्कमा पनि आफ्ना केहि साँगितिक प्रस्तुती पनि देखाएका हुन्छन् भने नाम चलेका अन्र्तराष्ट्रिय स्तरका रेष्टुरेन्ट पनि त्यहाँ चलाईएका हुन्छन् । साँच्चै भन्नुपर्दा त्यहाँ गएका दर्शकहरुलाई एक दिन मात्र घुमेर चित्तै बुझ्दैन । कम्तिमा दुई दिन घुम्न पाईयो भने मात्र राम्रोसँग सबैतिर घुम्ने समय पुग्दछ ।
छ सात दिन मात्र संचालन गरिने भएता पनि स्टलहरुको साजसज्जाको खर्चको अनुमान लगाउँदा जो कोही पनि तीन छक्क पर्नेछ । हरेक स्टल पिच्छे विभिन्न सांगितिक प्रस्तुती, प्रतियोगितात्मक प्रस्तुती एवं अन्य विविध प्रस्तुतीले त्यहाँ आएका दर्शकहरुलाई आकर्षित गर्न तछाड मछाड नै देखिन्छ ।
जुन कम्पनी उक्त एक्स्पोमा सहभागिता जनाउँदैनन्, उसलाई बजारमा प्रतिष्पर्धा गर्न नसक्ने कम्पनीको रुपमा पनि हेर्न सक्ने भएकाले महिनौं पहिलेदेखी कम्पनीहरु उक्त एक्स्पोमा सहभागिताको लागि तयार हुने गर्दछन् ।
उक्त प्रदर्शनीमा अत्याधुनिक र नयाँ नयाँ कार तथा बाईकहरुको लञ्चका साथसाथै विभिन्न स्वादिला खानेकुरा र मनोरञ्जनको बृहत प्रस्तुती हेर्न सकिन्छ ।
विभिन्न कार, बाईक तथा स्कुटीको लञ्चको लागि तथा प्रवद्र्धनका लागि हलिउडका ख्यातिप्राप्त सेलिब्रिटीहरु पनि आउने हुँदा प्रदर्शनीमा निक्कै भिड हुने गर्दछ । दैनिक करिब एक लाख भन्दा बढीले टिकट काटेर प्रदर्शनी हेर्न जाने गरेको रेकर्ड छ ।
उक्त प्रदर्शनीमा अटोमोवाईल सम्बन्धि सभा तथा गोष्ठि, अटोमोवाईल आर्ट, सुपरबाईकको राईड, अवार्ड वितरण, सडक सुरक्षा सम्बन्धि सेमिनार लगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरु पनि आयोजना गरिएको हुन्छ ।
विश्वका उत्कृष्ट अटो एक्स्पो मध्य सातौं ठूलो र एशियाको सबैभन्दा ठूलो मानिने उक्त प्रदर्शनीमा बिर्सनै नसकिने अनुभवका साथ स्टाईल, भव्यता, सुरक्षित र सभ्यता सँगसँगै लिएर हिँड्ने आयोजकको मुख्य उद्देश्य रहेको जनाएको छ ।
नेपालमा अटोमोवाईल क्षेत्रमा पहिले देखि नै व्यापार गरिरहेको भए पनि अटोमोवाईल क्षेत्रको हालको विश्वव्यापी अवस्था तथा भविष्यको सम्भावना कस्तो हुनेछ भन्ने जान्नका लागि पनि नेपालबाट थुपै्र अटो व्यवसायी उक्त एक्स्पोमा जाने गर्दछन् । उक्त एक्स्पोको शिलशिलामा त्यहाँ पुग्दा नयाँ दिल्ली तथा गे्रटर नोयडाको पछिल्ला विकासका नमुनाहरु समेत हेर्न सकिने हुँदा बाहिरका दर्शक निक्कै रोमाञ्चित हुने गर्दछन् ।
नयाँ दिल्लीको मेट्रो ट्रेन चढ्नु, सटल बसमा यात्रा गर्नु, चिल्ला र फराकिला सडकहरुको दृष्यपान गर्नु तथा त्यहाँका केही पर्यटकीय क्षेत्रको भ्रमण गर्नु पनि त्यस बखत विशेष प्याकेजको रुपमा राखिने गरिन्छ ।