भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तारका लागि जेठ ०७१ मा भारतीय कम्पनी आइपिएल र शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी माओवादीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएकाले यसअघिका विभिन्न आन्दोलनमा अधिकारीका साथै दाहालसमेत जोडिएका थिए । ‘यो सडक बनाउन तत्कालीन नेकपामा हुँदा पनि हामीले दबाब दिएका थियौँ । यो कोही व्यक्तिका लागि बनाउने होइन । कसैले अमुक व्यक्तिको कारण छुट पाउने होइन,’ गोठेले भने । उनले स्थानीयद्वारा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिएनन् । आफूलाई ढिला जानकारी भएकाले आउन पनि ढिलाइ भएको, तर सडक निर्माणको मागमा ऐक्यबद्धता रहेको उनको भनाइ छ ।
सातपटक म्याद थप, साढे दुई गुणा बढ्यो लागत
निर्माण सम्झौताअनुसार कात्तिक ०७३ मै काम सम्पन्न गर्नुपर्नेमा सातपटक म्याद थप भइसकेको छ । जसबाट २८ करोड रुपैयाँ निर्माण सम्पन्न हुने अनुमान गरिएकोमा सडकको लागत समेत साढे दुई गुणाले बढेको छ ।
एमालेका उम्मेदवार नवराज गेलालले पनि सडक नबन्दा स्थानीयवासी आजित भइसकेको र विभिन्न चरणमा भएका आन्दोलनलाई सदैव समर्थन गरेको बताउँछन् । यस क्षेत्रबाट जित्ने सांसदले संघीय सरकारको यो आयोजना पूरा गराउन सरकारसँग आवश्यक समन्वयका कार्य गरोस् भन्ने चाहना स्थानीयको रहेको उनले बताए । ‘आठ वर्ष भइसक्यो, सडक विस्तार र निर्माण पूरा हुन सकेको छैन । सरकार, ठेकेदार र सम्बन्धित निकायहरूले ध्यान दिएका छैनन्,’ गेलाल भन्छन्, ‘यसमा दलीय कुरा नै उठ्दैन । हामी सबै सडक बन्नुपर्छ भन्नेमा एकमत छौँ र जितेपछि आफ्नो ठाउँबाट सक्दो पहल गर्नेछौँ ।’ सबै दलहरूले पटक–पटक भएका आन्दोलनमा समर्थन जनाएको उनले बताए ।
यसअघि यहाँबाट संघीय संसद्मा प्रतिनिधित्व गरेका प्रेम सुवाल भने बुधबार विरोध कार्यक्रममा उपस्थित थिएनन् । उनी फेरि अर्को कार्यकालका लागि नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार छन् । नेमकिपाले काम नगर्ने ठेकेदारहरूसँग ठेक्का सम्झौता तोड्नुपर्ने माग राख्दै आएको छ ।