बिमासँग सम्बन्ध नभई त कुनै पनि बैङ्क नै चल्दैन ।

सुनिल बल्लभ पन्त

सिईओ, एनएलजी इन्स्योरेन्स कम्पनी

 

 

लामो समयदेखि बिमा क्षेत्रको अनुभव बटुलीसक्नु भएका बिमासम्बन्धी जानकार व्यक्तित्व एवम् एनएलजी इन्स्योरेन्स कम्पनीका वर्तमान सि.ई.ओ सुनिल बल्लभ पन्तसँग समग्र बिमाबजार, बिमा बजारमा एनएलजीको स्थान तथा यातायात दुर्घटना बिमामा सरोकारवाला निकायहरूले गरीरहेको पहलकदमी जस्ता विषयको सेरोफेरोमा रहेर अटो नेपालका संवाददाता बेदनाथ ढकालले गर्नुभएको महत्वपूर्ण कुराकानीको सम्पादित अंश ः

विगत लामो समयदेखि यहाँ बिमाकम्पनीमा कार्यरत हुनुहुन्छ, यहाँले बिमा व्यवसायलाई कसरी हेर्नुभएको छ  ?
मैले एकदमै सकारात्मक पाटोबाट हेरेको छु किनभने देशको सम्वृद्धिको लागि अथवा भनौं देशलाई सम्वृद्धिको बाटोमा हिडाउनको लागि बिमा अपरिहार्य हुन्छ । देशको अर्थतन्त्रकै एउटा महत्वपूर्ण हाँगो हो बिमा व्यवसाय । हरेक व्यक्ति, संस्था वा सरकारको सम्पत्तिको भविष्यमा आउन सक्ने जोखिमहरू जस्तै दुर्घटना, आगलागी, चोरी आदिबाट हुने क्षतिको वहन गर्न क्षतिपुर्ती दिन र पुनः निर्माण गर्नका लागि इन्स्योरेन्सको महत्वपूर्ण भुमिका हुन्छ । यसरी व्यक्ति, संस्था वा राष्ट्रकै असहज परिस्थितिको साथी चाहि बिमा हो, जस्ले सहजतामा हैन असहज वा अप्ठ्यारो परिस्थितिमा साथ दिन्छ त्यसैले बिमा आवश्यक छ । सबैले बुझेर गर्नुपर्छ भन्ने मेरो बुझाई हो ।

बिमा बजारको वास्तविक धरातललाई नियाल्ने हो भने नेपालमा निर्जिवन बिमा व्यवसायको अवस्था कस्तो छ  ?
अब नेपालकै इतिहास वा विश्वकै इतिहासलाई हेर्ने हो भने बिमाको शुरुवात नै निर्जिवन बिमा व्यवसायबाट भएको पाइन्छ । अझ अहिले त निर्जिवन बिमाको हकमा त बिमा गर्नुपर्छ भन्ने सरकारकै मान्यटरी व्यवस्था पनि छ । किन यसो भयो भन्दा निर्जिवन बिमा, बिमाव्यवसायको यस्तो पाटो हो जस्ले सम्पत्तिको जोखिम बहन गर्ने जिम्मा लिन्छ । त्यसो हुँदा नेपालको बिमाबजारमा निर्जिवनको बिमाव्यवसायको अवस्था राम्रो छ किनभने अहिले हरेक व्यक्ति वा संस्थाले गाडी वा बाइक किनिसकेपछि बिमा गर्नैपर्छ र गर्नुपर्छ भन्ने चेतनाको पनि विकास भएको पाइन्छ । तर, निर्जिवन बिमाव्यवसायमा हामी जसरी प्रस्तुत भैरहेका छौं, त्यो प्रस्तुती बदलिनुपर्ने बेला चाहि आएको छ ।

सामान्यतया हेर्दा जीवन बिमाको तुलनामा निर्जिवन बिमाप्रति जनचासो कम देखिए झैं लाग्छ, यसरी जनचासो कम देखिनुमा चेतनाको कमी हो अथवा बजार सुहाउँदो पोलिसीहरू नै नभएका हुन्  ?
जनचासो कम देखिनुमा चेतनाको कमी हो नेपाली बजार सुहाउँदो पोलिसीहरू नभएका कदापी हैनन् । बिमा गर्नुपर्छ भनेर जुन लेबलको चेतना वृद्धि हुनुपर्ने हो त्यो चाहि नहुनुमा सम्बन्धित निकायहरू नै कहीं कतै चुकेजस्तो लाग्छ । बिमासम्बन्धी जनचेतना बढाउनु एकदमै चुनौतीको विषय हो । बिमकहरूले ग्राहकलाई नाफाभन्दा पनि जोखिमहरू देखाएर बिमाको महत्व बुझाउन सक्नुपर्छ र विज्ञापन गर्न सडक नाटकहरू गर्ने, रेडियो, टिभी कार्यक्रमहरू चलाउने, बेलाबेला बिमासम्बन्धी क्याम्पियनहरू चलाउने साथै विद्यालयको प्राथमिक तहदेखि नै बिमासम्बन्धी स्कुलिङ गर्ने देखि लिएर युनिभर्सिटिसम्म बिमाशिक्षा दिन सके अब आउने पुस्तामा जनचेतना बढ्ने र बिमाबजार सुदृढ हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

अहिले नेपालमा बिमा कम्पनीहरू धेरै छन् । ती बिमा कम्पनीहरू बिच नै अस्वस्थ प्रतिस्पर्धा बढिरहेका जनगुनासाहरू प्रशस्त मात्रामा सुनिन्छ नि  ?

नेपालको बिमाबजारलाई मध्यनजर गर्दै जति कम्पनीहरू खोलिएका छन् त्यो सान्दर्भिक नै छ । जहाँसम्म यहाँले कम्पनी बिचको अस्वस्थ प्रतिस्पर्धाको कुरो गर्नुभयो, त्यस्तो अस्वस्थ प्रतिस्पर्धा हैन । खासमा के हो भने हरेक बिमाकम्पनीले यति रकम खर्च गर्नुपर्छ भनेर बिमा समितिले तोकिदिएको हुन्छ त्यो रकम कुनै कम्पनीले भड्किलो रुपमा बजारमा खर्च गर्ने र कुनै कम्पनीले सिमित खर्च गरी अन्य ठाउँमा लगानी गर्ने परिपाटी छ त्यसैले त्यो अनुभूति हुनु स्वभाविक हो ।

बिमा भनेकै दाबी भुक्तानीका लागि गरिन्छ तर यहाँ दाबी भुक्तानी आम सर्वसाधारणले सजिलै लिन नसक्ने पहुँचका आधारमा वितरण गर्ने परम्परा बढिरहेको छ भनेर धेरै सर्वसाधारणले भनेको सुनिन्छ, यस्लाई कसरी लिनुहुन्छ  ?
दाबी भुक्तानीकै लागि बिमा गरिने कुरा ठिक हो तर जहाँसम्म पहुँच नपुग्या कुरा गर्नु त्यो चाहि बिल्कुलै हैन, म मान्दिन । तर नेपालमा एउटा समस्या के छ भन्नुहुन्छ भने बिमादाबी प्रक्रिया नबुझी, दाबी भुक्तानीका आवश्यक प्रक्रिया वा कागजातहरू नबुझी आना मान्छे खोज्ने परम्परा छ । यो बिमामा मात्र हैन जुनसुकै क्षेत्रमा यो समस्या हाबी छ । जबसम्म नेपाली जनताले यो कुरा बुझ्दैनन् र आना मान्छे खोज्ने, शक्ति प्रदर्शन गर्ने भन्ने सोच दिमागमा राख्छन् तबसम्म यो समस्या देखिनु स्वभाविक हो । किनभने दाबी भुक्तानी आवश्यक प्रक्रिया पूरा नभई त पाइन्न । त्यसैले ग्राहकले के बुझ्नुपर्छ भने मैले आवश्यक प्रक्रिया जति छिटो गर्छु त्यति छिटो भुक्तानी पाउँछु भन्ने बुझ्नुपर्छ । तर यहाँ त्यो भन्दा पनि आवश्यक प्रक्रिया नपुर्याउने वा कागजात नै हराइदिने अनि दाबी पाइन भनेर गुनासा गर्ने प्रचलन छ, त्यसैले पहुँच नपुगेको वा झन्झटिलो जस्तो देखिएको हुनसक्छ ।

यातायात दुर्घट्ना बिमा बढाउन यातायात व्यवस्था विभागले गरेको आह्वानप्रति बिमाकम्पनीहरू अनिच्छुक देखिएको पाइन्छ नि  ?
अनिच्छुक देखिएको हैन, तर तेस्रो पक्षको औषधोपचार खर्च बढाउनुपर्छ भनेर जिम्मेवार निकाय बिच छलफल चलिरहेको छ । मोटर बिमादर २०६९ को अधिनमा रहेर हामी छलफलमा जुटेका छौं र हामीले अनुरोध पत्र पनि पठाइसकेका छौं ।

यातायात दुर्घट्नामा घाइते भएकाहरू अस्पतालमै बन्दी बन्न बाध्य भईरहेका छन्, यस्लाई कसरी व्यवस्थित गर्न सकिन्छ  ?
सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेपछि यातायात व्यवसायी संघहरू तितरवितर भएकाले यो समस्या निम्तिएको हो । यस सम्बन्धमा हामीहरू लागिराखेका छौं साथै यातायात व्यवस्था विभाग र सवारीधनीहरूले नि चासो बढाएका छन् । त्यसैले हामी सबै मिलेर यो समस्या चाँडै हल गर्ने वातावरण बन्दैछ ।

बिमामा अहिले सरकारी अनुदान दिने भन्ने कुरा बाहिर आएको छ तर जस्लाई लक्ष्यित गरेर ती कार्यक्रम ल्याइएको हो उसलाई नि त्यो सम्बन्धमा थाहा नभएको अवस्था छ । यस्का लागि राज्य र बिमा कम्पनीको भूमिका के रहन्छ ? र सरकारी अनुदान कस्ता कस्ता बिमा पोलिसीमा पाइने हो  ?
कृषि तथा पशु बिमामा बिमाशुल्कको ७५ प्रतिशत सरकारी अनुदान पाइन्छ । यो साना ठूला सबै कृषकवर्गलाई लक्ष्यित गरेर ल्याइएको सरकारको तीन चार वर्षे कार्यक्रम हो । यो भर्खरै लागू भएकोले सबैलाई थाहा नहुनु स्वभाविक हो । लक्ष्यित वर्गसम्म यो कार्यक्रम पुर्याउनको लागि राज्यले त एक किसिमको निती बनाइसक्यो अब त्यसलाई प्रयोग गर्न बिमाकम्पनीहरू लागि पर्खिराखेका छन् । नेपालजस्तो कृषिप्रधान देशमा यो कार्यक्रम एकदमै प्रभावकारी हुने र बिमाविस्तार र जनचेतना अभिवृद्धिको लागि यो एउटा कोशेढुङ्गा सावित हुन्छ भन्ने विश्वास लागेको छ ।

इतिहासलाई हेर्ने हो भने नेपालमा बैङ्क र बिमाकम्पनी लगभग सँगसँगै सुरु भएजस्तो लाग्छ तर आजको दिनसम्ममा बैङ्कले जति फड्को मार्यो बिमाले त्यति सकेन । खासमा बिमा व्यवसाय पछाडी पर्नुको कारण के हो  ?
तपाईले यो प्रश्न केलाई आधार मानेर गर्नुभयो म जान्दिन, तर बिमाबिना बैङ्क चल्नै सक्दैन । त्यसकारण जहाँ बैङ्क छ त्यहाँ बिमा छ । बिमाले त बैङ्कलाई नै सुरक्षित गर्छ, बिमासँग सम्बन्ध नभई त कुनै पनि बैङ्क नै चल्दैन । यसैले बैङ्क र बिमालाई वित्तिय हिसाबले तुलना गर्न मिल्दैन । अब सरकारले एक गाउँ एक बैङ्कको योजनालाई अघि सारेको छ यदि त्यो कार्यान्वयन भयो भने त गाउँगाउमा बिमा विस्तार हुनेछ । बिमा जहिले पनि साइलेन्ट पावरको रुपमा रहन्छ, त्यसैले फड्को नमारेजस्तो देखिनु स्वभाविक हो ।

यहाँ अहिले एनएलजी इन्स्योरेन्स कम्पनीको सि.ई.ओ पनि हुनुहुन्छ, समग्र निर्जिवन बिमा व्यवसायलाई हेर्दा एनएलजीको बजार हिस्सा कस्तो छ  ?
एनएलजी इन्स्योरेन्स कम्पनी अरु कम्पनीभन्दा कृषि तथा पशु बिमामा अग्रस्थानमा छ । समग्रतामा भन्दा पनि कृषि तथा पशु बिमाको क्षेत्रमा ३० प्रतिशतको हाराहारीमा बजार लिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा कृषि बिमाको क्षेत्रमा उचित योगदान पु‍र्याएको भन्दै कृषि मन्त्रालयले सर्वोत्कृष्ट बिमा कम्पनीको रुपमा सम्मान गरेको थियो । अरु कम्पनीभन्दा अग्रपंक्तिमा आउन कसरी सफल हुनुभयो ?
हामी अरु कम्पनीभन्दा अग्रपंक्तिमा आउन सफल हुनुमा दुईवटा कुरा छन् । एउटा चाहि सरकारले कृषि तथा पशु बिमा कार्यक्रम ल्याउनु अगाडि नै हामीले सुरु गरेर एक किसिमको बजार लिइसकेका थियौं, त्यसकारण हामीलाई झन् सजिलो भयो । अर्को कुरा चाहि हामीले हान्नोभर पूनर्बिमा कम्पनीसँग सुरुवात मै पुनर्बीमा सम्झौता गरिसकेका थियौं त्यही सम्झौताले पनि काम गर्न अझ प्रेरित गर्यो ।

निर्जिवन बिमा व्यवसायमा एउटा अब्बल नाम भएको छ, एनएलजी इन्स्योरेन्स । यसलाई थप अब्बल बनाएर लैजानको लागि कम्पनीको आगामी रणनीति के कस्तो तय गर्नुभएको छ  ?
यो जमाना भनेकै विज्ञान र प्रविधिको जमाना हो । त्यसकारण हामीले मात्र हैन जो सुकैले नि प्रविधिसँग निकट रहेर काम गर्न सकेन भने पछि पर्दछ । त्यसैले अबको हाम्रो मुख्य रणनीति भनेकै प्रविधिको भरपुर प्रयोग गरेर ग्राहकलाई गुणस्तरीय सेवा दिने नै हो । अर्को भनेको नेपालका दुरदराजसम्म बिमासम्बन्धी अभियानहरू चलाउने, विज्ञापन गर्ने आदि हुन् ।

बिमा कम्पनीहरू बढिजसो शहर केन्द्रित भएको पाइन्छ, बिमालाई गाउँ गाउँसम्म विस्तार गर्न के गर्नुपर्ला  ?
यस सम्बन्धमा सरकारी निती आइसकेको छ, एक गाउँ एक बैङ्क भन्ने । यो निती लागू हुनासाथ गाउँ–गाउँमा बैङ्कहरू पुग्छन् । बैङ्क पुगिसकेपछि बिमापनि सँगै पुग्छ त्यसो हुँदा आशा गरौं अब चाँडै दुर–दराजसम्म बिमा विस्तार हुनेछ । त्यसको लागि बिमाकम्पनीहरू पनि तयारी हुँदै गरेको अवस्था छ ।

अन्त्यमा, बिमा हरेक व्यक्तिलाई अनिवार्य आवश्यक हुँदा हुँदै पनि बिमाप्रति जनताको नकारात्मक हेराई देखिन्छ । जस्ले गर्दा बिमा व्यवसायको बजार खाली हुँदा हुँदै पनि व्यवसायमा वृद्धि भएको पाइन्न, यस्लाई कसरी सुल्झाएर अगाडि बढ्न सकिएला  ?
अब यस्को लागि चेतनाकै अभिवृद्धी गर्नु, गराउनुपर्छ । त्यसको लागि विज्ञापन माध्यम उत्कृष्ट विकल्प हुनसक्छ ।
अब आउने पुस्तालाई विद्यालयको प्राथमिक तहदेखी नै बीमासम्बन्धी शिक्षा दिने, स्कुलिङ गर्ने तथा अभियानहरू चलाइराख्ने जस्ता काम गर्न सकियो भने यस्लाई सुल्झाएर अघि बढ्न सकिन्छ जस्तो लाग्छ ।

Email: info@eautonepal.com

Leave a Reply

Your email address will not be published.