विश्व बजारमा सवारीको विद्युतीकरणमा दौडिने तयारीमा छ किया। त्यसका लागि कम्पनीले उत्पादन प्लान्टदेखि मोडलको पोर्टफोलियो विस्तार गरिरहेको छ।
यस्तैमा कियाले भारतीय बजारमा ईभी वानदेखि ईभी नाइनसम्मको पेटेन्ट दर्ता गराएको छ।
नयाँ जेनेरेसनको ईभी सिक्स विश्व बजारसहित भारतमा पनि बिक्री भइरहेको छ। उक्त विद्युतीय कार नेपाली बजारमा समेत आउने अन्तिम तयारीमा छ।
त्यसैगरि कियाको ईभी नाइन विश्व बजारमा सार्वजनिक भइसकेको छ भने ईभी फाइभको प्रोटोटाइप आइसकेको छ।
निरो र सोल ईभी आईसी प्लेटफर्ममा बनेको भए पनि त्यसयता बनेको विद्युतीय कार नयाँ प्लेटफर्ममा बनेका हुन्।
हाल भारतीय बजारमा ईभी सिक्स मात्र बिक्री भइरहेको छ। त्यस्तै नेपाली बजारमा ईभी सिक्स आउने क्रममा छ भने यसअघि निरो ईभी र सोल ईभी बिक्री भएको थियो।
दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले भारतमा ९ वटा पूर्ण विद्युतीय कारको पेटेन्ट दर्ता गरेको हो।
यी सबै विद्युतीय कार भारतीय बजारमा सार्वजनिक हुनेछन्। भारतमा हालै किया ईभी फोर परीक्षणका क्रममा देखिएको थियो।
नामाकरणकै आधारमा पनि किया ईभी वानदेखि नाइनसम्म क्रमशः सानोबाट ठूलो रहेको छ। कियाको ईभी नाइन फ्ल्यागसिप प्रिमिय एसयूभी कार हो।
त्यसैले कियाको ईभी वान सबैभन्दा सानो विद्युतीय ह्याचब्याक कार हुनेछ। ईभी वान पिक्यान्टो आकारको हुने अनुमान गरिएको छ।
त्यस्तै ईभी टू हुन्डाई एक्सटरकै आकारको हुनेछ भने ईभी थ्री सबफोर मिटरको कम्प्याक्ट कार हुनेछ। ईभी फोर सेल्टोस साइजको, ईभी फाइभ एसयूभी हुनेछ।
त्यस्तै ईभी सिक्स क्रसओभर हो भने ईभी सेभेन र एटबारे केही बाहिर आएको छैन। सेभेन र एट मध्ये एउटा विद्युतीय सेडान हुने अनुमान धेरैको छ।
दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले मेक्सिकोमा विद्युतीय कार उत्पादन प्लान्ट खोल्ने भएको छ।
कियाले मेक्सिकोमा नयाँ ईभी प्लान्ट स्थापना गर्ने तय भएको मेक्सिकन गभर्नरले बताएका छन्।
विद्युतीय कार उत्पादनमा आक्रामक भएको हुन्डाई मोटरको भगिनी कम्पनी कियाले अमेरिकी बजारलाई लक्षित गरी मेक्सिकोमा विद्युतीय कार उत्पादन गर्ने घोषणा यसअघि नै गरेको थियो।
कियाले मेक्सिकोमा विद्युतीय कार प्लान्ट स्थापना गर्न १ अर्ब डलरभन्दा बढी लगानी गर्ने बताएको छ।
गत वर्ष कियाले २०३० देखि वार्षिक १२ लाख कार बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।
विश्वभर विद्युतीय कारको माग बढ्दै गएकाले कियाले एक वर्ष नपुग्दै आफ्नो लक्ष्य पनि बढाएको हो।
एक वर्षको अन्तरालमा कियाले वार्षिक ४ लाख विद्युतीय कार उत्पादन बढाउने लक्ष्य थप गरेको हो।
यो दशकको अन्त्यसम्ममा कियाले विश्वभर वार्षिकरुपमा बिक्री गर्ने कुल कारमध्ये ३७ प्रतिशत आर्थात् १६ लाख कार ब्याट्री ईभी हुने जनाएको छ।
कियाले सानो आकारका विद्युतीय कार भारतमै उत्पादन गर्ने र थप साना तथा मध्यम आकारका विद्युतीय कार युरोप र चीनमा उत्पादन गर्ने योजना अघि सारेको छ।
२०२७ सम्म पुग्दा कियाले १५ वटा पूर्णविद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ। कियाका विद्युतीय कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ।
कियाको सोल ईभी र निरो ईभी नेपाली बजारमा उल्लेख्य रुपमा बिक्री भइरहेको थियो।
पछिल्लो समय आयात नभए पनि अब भने कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रालिले निरो ईभी ल्याउने अन्तिम तयारी गरेको छ भने ईभी सिक्स पनि ल्याउन लागेको छ।
Post Views: 274