आयल निगमका कर्मचारीलाई दैनिक खाजादेखि पोसाकसम्मका भत्ता

सधैँ घाटामा रहेको बताउने आयल निगमले कर्मचारीलाई भने पोसाकदेखि खाजा खर्चसम्मका थरीथरीका भत्ता उपलब्ध गराइरहेको छ ।

यसरी लोभलाग्दा भत्ता वितरण गर्ने सार्वजनिक संस्थानको सूचीमा आयल निगम अग्रपंक्तिमा छ ।

निगम कर्मचारीले दुई वर्षअघिबाट दैनिक १७५ रुपैयाँका दरले यातायात भत्ता बुझ्ने गरेका छन् । त्यस्तै, खाजा खर्चबापत दैनिक सय रुपैयाँ पाउँछन् ।

मासिक रूपमा पेट्रोलियम जोखिम भत्ताबापत चार हजार पाँच सय र महँगी भत्ताबापत दुई हजार रुपैयाँ बुझ्छन् ।

त्यस्तै, वार्षिक रूपमा पोसाक भत्ताबापत निगमले कर्मचारीलाई २५ हजार रुपैयाँ उपलब्ध गराउँछ । यो शीर्षकको भत्ता निजामतीको भन्दा दोब्बर हो ।

घर रङरोगन खर्च भनेर दसैँअघि ४२ सयदेखि ६ हजार रुपैयाँसम्म (कमर्चारीको तहअनुसार) र एक महिनाको तलबबराबरको रकम चाडपर्व भत्ताबापत उपलब्ध गराउने गरेको छ ।

कर्मचारी बिरामी भए बिलअनुसारको औषधि उपचार खर्च पाउँछन् ।

तर, बिरामी नै नभए पनि वर्षको एकपटक अधिकृत तहका कर्मचारीले एक महिनाको तलबबराबर, सहायकस्तरले डेढ महिनाको तलबबराबर र टेक्निसियन/हेल्परले दुई महिनाको तलबबराबरको रकम भत्ताबापत बुझ्छन् ।

विदेश भ्रमणमा जाँदा ७५ डलरभन्दा माथि र देशभित्र १२ सयदेखि दुई हजार रुपैयाँसम्म भत्ता पाउँछन् ।

निगम कर्मचारी कल्याणकारी कोषबाट एक प्रतिशत ब्याजदरमा घरजग्गाका लागि कर्जा पाउने सुविधा छ ।

यस्तो कर्जा बढीमा सात वर्षको तलबबराबर हुन आउने रकम लिन पाइन्छ ।

त्यस्तै, एक वर्षको तलबराबर सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध छ ।

निगमले कर्मचारीलाई ५० वर्षसम्म त लुगा धुने भत्ताबापत दैनिक १५ रुपैयाँका दरले उपलब्ध गराउँदै आएको थियो ।

चौतर्फी आलोचनापछि दुई वर्षअघि मात्रै यस्तो भत्ता कटौती गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *