देशभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्ने

यातायात ब्यवस्था कार्यालयहरू लाग्ने गरेको भीड र विचौलिया प्रवृति अब अन्त्य हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ।

‘मैले यो मन्त्रालयको जिम्मेवारी लिए लगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र विचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिएँ।

लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व  आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौं,’ उनले भने।

उनले गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु भएको बताए। महिनाभित्र देशभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्ने उनको भनाइ छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरे। अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए।

अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिनमात्र जानुपर्ने छ।

‘स्वास्थ्य परीक्षण पनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौं,’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *