पेट्रोलियम पदार्थको बिक्री मूल्य घट्यो

नेपाल आयल निगमले भारतबाट मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ ।

त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

निगमले दुरीको आधारमा पहिलो वर्ग दोस्रो वर्ग र तेस्रो वर्गमा विभिन्न जिल्लाहरुको वर्गिकरण गरेर बिक्री मूल्य निर्धारण गरेको हो ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो ।

तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् ।

अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ ।

त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ ।

सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएर १ सय ३६ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएर १.०३५ डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *