पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान

सञ्चालनमा आएको १७२औँ दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ ।

चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत बुधबार पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो ।

बुधबार बिहान ०६:०४ बजे छेन्दु विमानस्थलबाट उडेको विमान दुई घन्टा ५८ मिनेटको यात्रापछि बिहान ०९:०२ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।

विमानमा चीन भ्रमणबाट फर्केका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सातजना सदस्य र दुई कर्मचारीसँगै चीनको लिङजी नगरका प्रमुख, उपप्रमुखसगै खेलाडी र चिनियाँ पर्यटक आएका थिए ।

१३१ सिटे विमानमा चालकदलका १२ र ८४ यात्रु गरी ९६ जना पोखरा उत्रेका थिए ।

चीनबाट आएको विमान एक घन्टा पोखरा बसेर चालक दलका सदस्यसहित काठमाडौं फर्केको थियो ।

८ र ९ असारमा फेवातालमा दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ हुँदैछ ।

सोही फेस्टिभलमा सहभागी हुन चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक, पर्यटक आएका हुन् ।

बोट रेसमा नेपालका सात प्रदेशका र चीनका गरी १२० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

बोट रेसमा दुई सय र पाँच सय मिटर गरी दुई सेगमेन्टमा आठवटा बोट रेस हुनेछ ।

१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको विमानस्थलमा ११ फागुनमा इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि तयार भएको थियो ।

चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा टुंगो लागेको छैन  ।

चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।

अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्ड अनुसार फोरडी मोडेलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र २५ सय मिटर लामो धावनमार्ग छ ।

जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज उडान गर्न सकिन्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *