विद्युतीय कार मात्र उत्पादन गर्नेगरि स्थापना भएको अमेरिकी कम्पनी टेस्ला इंक कार उत्पादनदेखि चार्जिङ पूर्वाधार विस्तारसम्म आक्रामक छ।
सिंगो अटोमोबाइल उद्योगलाई झकझक्याउने गरी चार्जिङ पूर्वाधार विकासमा टेस्लाले ठूलो लगानी गर्दैछ।
टेस्लाले चार्जिङ नेटवर्कमा विस्तार गरिरहेको लगानी र आगामी दिनको योजनाबाट प्रभावित भएर दुई भेट्रान अटोमोबाइल कम्पनी फोर्ड र जीएमले टेस्लासँग चार्जिङ साझेदारीको सम्झौता गरिसकेको छन्।
यी दुई कम्पनीले टेस्लाका चार्जिङ नेटवर्कमा आफ्ना विद्युतीय कार चार्ज गर्न सक्नेछन्।
टेस्लाले विकास गरेको नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) दुई कम्पनीका लागि खुला हुनेछ।
योसँगै एनएसीएस उत्तर अमेरिकी क्षेत्रका लागि विद्युतीय सवारी चार्जिङमा नयाँ मानक नै बन्ने अनुमान गरिएको छ।
उत्तर अमेरिकी क्षेत्रमा एनएसीएस चर्चित हुँदा यहाँ कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएस) क्रमिक रुपमा ओझेल पर्ने अनुमान हुन थालेको इनसाइडईभीज्ले लेखेको छ।
उत्तर अमेरिकी क्षेत्रमा टेस्लासँगको साझेदारीमा र सीसीएस दुवै प्रयोग गर्छु भन्ने कार उत्पादकहरुलाई भने लाभ हुने छैन।
फोर्ड र जीएमले टेस्लासँगको साझेदारीमा हाल अमेरिका र क्यानडामा गरेर १२ हजार वटाभन्दा बढी चार्जरमा सहज एक्सेस पाएका छन्।
टेस्लाकै कार प्रयोगकर्ताको तुलनामा जीएम र फोर्डका कार प्रयोगकर्ताले टेस्लाको चार्जरबाट चार्ज गर्दा केही महँगो शुल्क तिर्नुपर्ने छ।
टेस्लाले आफैले उत्पादन गरेको कार र अन्य कम्पनीसँग गरेको सम्झौताका आधारमा हुने कार चार्जिङबाट २०३० सम्म करिब ३ अर्ब डलर आम्दानी गर्ने अनुमान छ।
यो टेस्लाले गर्ने वार्षिक आम्दानी हो। यस्तैमा मोरगन स्टेनलेले टेस्लाले विस्तार गर्ने सुपरचार्जरको मूल्य बारे अनुमान सार्वजनिक गरेको छ।
मोरगन स्टेनलेका आदम जोनासले गरेको अनुमान अनुसार टेस्लाको सुपरचार्जरको मूल्य १ खर्ब डलरभन्दा बढीको हुनेछ।
टेस्लाको विद्युतीय कारसँग सम्बन्धित सबै उत्पादन र चार्जिङ नेटवर्क उक्त मूल्यमा समावेश गरिएको छ।
यसमा कर पछिको सञ्चालन नाफाको अनुमानलाई समेत राखिएको छ।
टेस्लाले २०३० सम्म पुग्दा सवारी चार्ज गर्नका लागि आफ्नै सोलार स्टोरसमेत बनाइसक्नेछ।
यी सबैको मूल्यांकन १ खर्ब डलरभन्दा बढीको हुनेछ।
टेस्लाको सुपरचार्जरको मूल्यांकन हुन्डाई, बीएमडब्लूलगायत केही सवारी उत्पादनको कुल मूल्यांकन भन्दा बढी हुनेछ।
यो मूल्यांकन एक विज्ञको मात्र राय हुने भएपछि वास्तविक भएको र समयले त्यसलाई प्रमाणित गर्ने जोनासले बताएका छन्।