राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको बर्खामा बाढीपहिरोसहितका विपत्बाट दुई लाख १६ हजार घरपरिवारका साढे १२ लाख नागरिक प्रभावित हुने आकलन गरेको छ ।
त्यसमध्ये करिब एकतिहाइ जनसंख्यालाई खाद्यान्नको आवश्यकता पर्न सक्छ ।
आवश्यक राहत सामग्री संकलन गरेर प्रदेश तथा जिल्लामा भण्डारण गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
गत वर्ष मनसुनी याममा बाढीपहिरोबाट एक सय १९ जनाको ज्यान गएको थियो भने ३२ बेपत्ता हुँदा ११५ घाइते भए ।
एक हजार ६ घर पूर्ण रूपमा क्षतिग्रस्त बन्दा एक हजार एक सय घरमा आंशिक क्षति पुग्यो ।
गत वर्ष बाढीपहिरोबाट खोटाङ, मकवानपुर, नवलपुर, प्युठान, सुर्खेत, अछाम, बाजुरा र दार्चुला बढी प्रभावित भएका थिए ।