कोलम्बियाको घना जङ्गलमा ४० दिनसम्म कसरी बाँचे यी चार बालबालिका ?

शुक्रवार, जुन ९ को रात कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार !’

विगत ४० दिनदेखि घना जङ्गलमा हराइरहेका चार बालबालिका जीवित र सकुशल फेला परेको वाकीटकीमा सेनाको कोडेड सन्देशमार्फत जनताले थाहा पाए।

यी चार बालबालिका कोलम्बियाको हुइटोटो आदिवासी समुदायका हुन् । मे १ मा भएको विमान दुर्घटनामा सबै बालबालिका बेपत्ता भएका थिए।

तीन चारै जना बालबालिका हल्का विमानमा यात्रा गरिरहेका थिए जुन मे १ मा बिहानै अमेजनको घना जङ्गलका बीच दुर्घटनाको सिकार भएको थियो।

उक्त दुर्घटनामा बालबालिकाकी आमाको मृत्यु भएको थियो।

त्यसपछि ती १३ वर्ष, ९ वर्ष, चार वर्ष र एक वर्षका बालबालिका विषालु सर्प, खतरनाक जगुआर र लामखुट्टे बस्ने घना जङ्गलमा फसेका थिए।

एडविन पाकीले पत्रकारलाई भने, ‘जङ्गलमा प्यासन फ्रुटसँग मिल्दोजुल्दो एक प्रकारको जङ्गली फल पाइन्छ, जसलाई अविचुर भनिन्छ।

यस फलको दाना खाएर बालबालिकाहरू जङ्गलमा बस्थे । दुर्घटना भएको स्थानबाट करिब डेढ किलोमिटरको दूरीमा अविचुरको रुख थियो।’

कोलम्बियाको परिवार कल्याण संस्थानका प्रमुख एस्ट्रिड केसेरेसले भने, ‘यो विमान दुर्घटना त्यति बेला भयो जब जङ्गली रुखमा फल लाग्ने मोसम थियो । र यी बालबालिका ती फलफूल खाएर जीविकोपार्जन गरिरहेका थिए।’

तैपनि, यी बालबालिकाहरूले जङ्गलको अत्यन्तै दुर्गम वातावरणमा आफ्नो ज्यान जोगाउन धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो।

कोलम्बियाको आदिवासी समुदायका विज्ञ एलेक्स रुफिनोले बीबीसी मुन्डोलाई भने, ‘यी बालबालिका जङ्गलको अत्यधिक घना र अँध्यारो इलाकामा थिए जहाँ यो क्षेत्रको सबैभन्दा ठुला रुख पाइन्छ।’

उनी थप्छन्, ‘हुन त यो जङ्गलमा यस्ता धेरै रुख थिए जसको पातलाई पानीले धोएर खान सकिन्छ तर यही जङ्गलमा यस्ता थुप्रै रुख छन् जसका पात विषालु छन्।’

एलेक्सले भने, ‘यो जङ्गलको त्यो क्षेत्र हो, जहाँ मानिसको धेरै आवतजावत हुँदैन।

यी क्षेत्रहरूमा साना सहरहरू छन् र तिनीहरू जङ्गलको भित्री भागमा नभई नदीको किनारमा अवस्थित छन्।’

४० दिनसम्म, बालबालिकाहरूले जङ्गलमा सिकार गर्ने जङ्गली जनावरहरूबाट बच्नका साथै भीषण तूफानी वर्षासँग लडे । र, यो अवधिमा उनीहरूले जङ्गलको त्यो क्षेत्रमा सक्रिय भनिने सशस्त्र गिरोहको सामना पनि गर्नुपरेको हुनसक्छ।

राष्ट्रपति पेट्रोका अनुसार एक पटक बच्चाहरूले जङ्गली कुकुरबाट आफूलाई बचाउनु परेको थियो।

यद्यपि, एलेक्स रुफिनोले यी बालबालिकामध्ये आदिवासी समुदायमा हुर्किएकी १३ वर्षीया बालिका रहेको बताए।

उनले घना जङ्गल र सिकारी जनावरहरूको खतरनाक वातावरणमा बाँच्न सक्ने धेरै सीपहरू सिकेकी थिइन्।

यी बालबालिकाको पालनपोषण कोलम्बियाको दक्षिण पूर्वी क्षेत्रमा रहेको भाउप्समा भएको थियो।

यहाँको गुआनानो समूहका नेता जोन मोरेनोले बच्चाहरूलाई ‘उनका हजुरआमाले हुर्काएको’ बताए।

आदिवासी समुदायमा यी महिलालाई उच्च सम्मान गरिन्छ।

जोन मोरेनोले भने, ‘बालबालिकाले जङ्गलमा आफ्नो ज्यान जोगाउन आफ्नो समुदायका ठुलाहरूबाट सिकेका सुझावहरू प्रयोग गरे । उनले आफ्ना पुर्खाहरूको अनुभवलाई जीवित रहन प्रयोग गरे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *