Skip to content
काठमाडौँ — कच्चा तेलको मूल्य बढाउन साउदी अरबले आपूर्तिमा प्रतिदिन १० लाख ब्यारेल कटौती गर्ने भएको छ ।
तेल उत्पादक देशहरूले तेलको मूल्य गिरावट र बढ्दो मागको अवस्था भोगिरहेकाले आगामी जुलाईदेखि आपूर्तिमा कटौती गर्न लागेको साउदी अरबले जनाएको हो ।
उसका अनुसार तेल उत्पादक देशहरूको संगठन ओपेकले यसअघि दुई पटक उत्पादनमा कटौती गरे पनि मूल्य वृद्धि नभएपछि फेरि आपूर्ति कम गर्न लागिएको हो ।
आइतबार अस्ट्रियाको भियनामा आयोजित ओपेकका सदस्यसहित अन्य देशहरू सम्मिलित ओपेक प्लसको बैठकमा कच्चा तेलको आपूर्तिमा कटौती गर्ने सहमति भएको थियो ।
रुस नेतृत्वको उक्त बैठकले सन् २०२४ को अन्त्यसम्ममा आपूर्तिमा प्रतिदिन १४ लाख ब्यारेल घटाउने सहमति गरेको छ ।
साउदी अरबका ऊर्जामन्त्री अब्दुलजिज विन सलमानले सम्झौताको प्रशंसा गरे ।
‘नयाँ उत्पादन लक्ष्य धेरै नै पारदर्शी र निष्पक्ष छ,’ उनले भने । यदि आवश्यक परेमा साउदीले गरेको कटौतीमा जुलाईपछि झनै वृद्धि हुन सक्ने उनले बताए ।
ओपेक प्लस देशले सन् २०२२ अक्टोबरदेखि तेल उत्पादनमा प्रतिदिन ३६.६ लाख ब्यारेल कटौती गरिसकेको छ ।
यसअघि प्रतिदिन २० लाख ब्यारेल कटौती गर्ने सहमति भइसकेको छ, जुन विश्वको मागको २ प्रतिशत हो ।
त्यही अवस्थालाई चर्चा गर्दै तेल कटौतीको सम्झौता सन् २०२४ सम्म कायम राख्ने सहमति भएको बैठकमा सहभागी रुसका ऊर्जामन्त्री अलेक्ज्यान्डर नोभाकले बताए ।
बैठकले यूएईलाई भने कच्चा तेल आपूर्ति बढाउन स्वीकृति दिएको छ ।
Post Views: 342