थपिँदै छन् स्मार्ट स्ट्रिट लाइट

आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा उपत्यकाका हरेक स्थानीय तहले स्मार्ट स्ट्रिट लाइट (सडकबत्ती) जडानका लागि कम्तीमा एक करोड बजेट विनियोजन गर्ने भएका छन् ।

उपत्यकाभित्रका मेयरहरूको साझा संस्था उपत्यका मेयर्स फोरमको सोमबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

अहिले काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय मुख्य सडक साँझ परेसँगै अन्धकार हुन्छन् ।

यसअघि जडान गरिएका सडक सोलार बत्तीको आयु सकिएको र कतिपय स्थानमा मधुरो बल्न थालेपछि मुख्य सहरी क्षेत्र अन्धकार बन्न थालेका छन् ।

सडकबत्ती आत्यावश्यक रहेको भन्दै फोरमले आगामी आर्थिक वर्षभित्रै सबै सडकमा बत्ती राख्ने योजना अघि सार्न निर्णय गरेको थियो ।

सोही अनुसार सबै पालिकाले स्मार्ट स्ट्रिट बत्ती जडानका लागि बजेट छुट्याउने भएको ललितपुर महानगरका मेयर तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले बताए ।

उनले ललितपुरका केही स्थानमा स्मार्ट स्ट्रिट र हाई मास्ट लाइट जडान गरिसकिएको बताए ।

‘यसअघि बसेको फोरमको बैठकले उपत्यकामा स्मार्ट स्ट्रिट लाइट जडानका लागि घटीमा पनि एक–एक करोड बजेट छुट्याउने निर्णय भएको छ,’ उनले भने, ‘सहरी सडक चौबिसै घन्टा अन्धकार हुनुहुँदैन ।’

उनका अनुसार यसमा डिजाइन, प्राधिविक काम र पाँच वर्षसम्मको ग्यारेन्टी हुने गरी काम नेपाल विद्युत् प्राधिकरणले गर्नेछ ।

यसअघि काठमाडौं, ललितपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरण बीच फागुन ०७७ मा सडकमा अत्याधुनिक विद्युतीय बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्ने सम्झौता भएको थियो  ।

काठमाडौं महानगरले स्मार्ट स्ट्रिट लाइट जडानका लागि गत वर्ष ६ करोडभन्दा बढी बजेट छुट्याए पनि प्राधिकरण र महानगरबीचको टकरावले काम हुन सकेको थिएन ।

गत असोजदेखि भने महानगरले आवश्यक बजेट दिने भएपछि प्राधिकरणले काम थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *