भारतको पूर्वी क्षेत्रमा अवस्थित ओडिसा राज्यको बालासोर जिल्लामा शुक्रबार साँझ ७ बजे भएको रेल दुर्घटनामा ठूलो हताहती भएको छ ।
शनिबार साँझसम्म दुई सय ८८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सीले एएनआईले जनाएको छ । दुर्घटनामा करिब हजारजना घाइते भएका छन् ।
घाइतेमध्ये ५६ जनाको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
घटनामा तीन रेलहरू– सालीमारबाट चेन्नई जाँदै गरेको कोरोमन्डल एक्सप्रेस ट्रेन, बेंग्लुरुको यशवन्तपुरदेखि कोलकातानजिक हावडा गइरहेको एसएम विश्वेश्वरैया–हावडा सुपरफास्ट एक्सप्रेस र एक ढुवानी रेल संलग्न थिए ।
तीनैवटा रेलमा दुई हजार दुई सय यात्रु रहेको रेल अधिकारीलाई उद्धृत गरेको न्युयोर्क टाइम्सले लेखेको छ ।
रेल मन्त्रालयका प्रवक्ता अमिताभ शर्माले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यो घटना शुक्रबार साँझ ७ बजे भएको र दुर्घटनामा दुवै रेलका जम्मा १५ वटा डिब्बा पटरीबाट खसेको जानकारी दिएका छन् ।