साझा यातायात सहकारी लिमिटेडले तीनवटा विद्युतीय बसबाट थप सेवा प्रवाह गरेको छ ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले ललितपुरको पाटनढोकादेखि काठमाडौंको जोरपाटीसम्म सञ्चालन हुने उक्त बसको सोमबार उद्घाटन गरेका हुन् ।
साझा यातायातले यसअघि पनि उपत्यकाका विभिन्न रुटमा ठूला बसमार्फत सेवा प्रवाह गरिरहेको छ ।
हालै सञ्चालनमा ल्याएको विद्युतीय बस पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–जोरपाटी हुँदै दक्षिणढोकासम्म सञ्चालन हुने जनाइएको छ ।
यी बस फर्किंदा दक्षिणढोका–जोरपाटी–चाबहिल–गौशाला–रातोपुल–घन्टाघर–जमल–माइतीघर हुँदै पाटनढोकासम्म पुग्नेछन् ।
बसको स्टप स्टेसन पुल्चोकमा हुनेछ । साझाले यी नयाँ बसमार्फत सेवा दिन सुरु गरेसँगै यात्रुहरूले राहत महसुस गर्ने विश्वास गरेका छन् ।
सीमित बस र माइक्रोबस मात्रै सञ्चालन भइरहेको रत्नपार्क–ज्ञानेश्वर–जोरपाटी रुटमा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन् ।
यो रुटमा थप १५ वटा बस सञ्चालन गर्ने योजना रहेको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए ।
‘हामीले महानगरसँगको समन्वयमा नयाँ बस थप गरेका हौँ, यसबाहेक अन्य नगरपालिकामा पनि उनीहरूसँगको सहकार्यमा बस सेवा थप गर्न सकिन्छ,’ उनले भने, ‘नयाँ बस थप गरेपछि यात्रुहरूलाई ओहोरदोहोरमा सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो ।’